Techie IT
Mission Khabar

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सूचना प्रणाली र मोवाइल एप्स किन आवश्यक ? यी इन्फोग्राफिक्समा हेर्नुहोस्


काठमाडौं–श्रम¸ रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहज¸ सुलभ र छरितो ढंगले गुणस्तरीय सेवा पुर्याउनका लागि एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली को सुरुवात गर्न लागेको छ ।

यस्तै, मन्त्रालयले वैदेशिक रोजगारीसँग सम्वन्धित सूचना तथा सेवामा नागरिकको सहज पहुँचका लागि मोवाइल एप्लिकेशन समेत निर्माण गरी संचालनमा ल्याएको छ ।

यो प्रणालीमा अध्यागमन विभाग¸ पासपोर्ट विभाग¸ कन्सुलर सेवा विभाग¸ कुटनीतिक नियोगहरु¸ वैदेशिक रोजगार विभाग¸ वैदेशिक रोजगार व्यवसायी¸ अभिमुखीकरण तालिम प्रदायक संस्था¸ स्वास्थ्य परीक्षण गर्ने संस्था¸ बैंक¸ वीमा कम्पनी¸ सीप तथा तालिम प्रदायक संस्था¸ गन्तव्य देशका रोजगारदाता सम्बन्धी सूचना र सेवासम्बन्धी विवरणहरु उपलब्ध हुनेछन् ।

सूचना र सेवालाई प्रविधिमैत्री ढंगले सहज¸ सुलभ र गुणस्तरीय तरिकाले सरोकारवाला निकाय तथा व्यक्तिहरु समक्ष पुर्याई वैदेशिक रोजगारलाई सुरक्षित¸ व्यवस्थित र मर्यादित बनाउनका लागि एकीकृत सूचना प्रणालीको सुरुवात गरिएको मन्त्री गोकर्ण बिष्टको दाबी छ ।

यसले वैदेशिक रोजगारीको क्षेत्रमा पुर्याउने सेवा प्रवाह छरितो, मितव्ययी, पारदर्शी, पहुँचयोग्य हुनुका साथै गलत सूचनाको आधारमा हुनसक्ने ठगीलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ ।

वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुक जाने र स्वदेश फिर्ता हुनेहरु लगायतका अद्यावधिक तथ्यांक हुने प्रणालीका कारण अनुगमन प्रणाली प्रभावकारी भई सेवा प्रवाहको कार्यदक्षता बढ्ने विश्वास गरिएको छ ।

एन्ड्रोइड प्रणालीमा आधारित मोबाइल एपका माध्यमद्वारा अहिले नै श्रम स्वीकृति नवीकरणको फाराम पनि भर्न सकिने व्यवस्था गरिएको छ । सूचना प्रणालीलाई २०७५ असोज १ गतेदेखि सम्वद्ध निकायबाट पूर्ण रुपमा लागू गरिने मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, सकारात्मक सोच, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्