Techie IT
Mission Khabar

केही ठाउँमा सिमित बस्तु सहित सुपथ मूल्य पसल, महंगीको राहत बन्लान त सुपथ मूल्य पसल ?


काठमाडौं–दशैँ तिहार र छठ पर्वमा आम सर्वसाधारणलाई सुविधा दिन भन्दै सरकारले सुपथ मूल्यका पसल सञ्चालन गर्ने गर्छ । यो बर्षपनि विगत जस्तै असोज १२ गतेदेखि खुल्ने यस्ता पसलबाट उपभोक्ताले छठसम्म उपभोग्य सामग्री सुपथ मुल्यमा खरिद गर्न पाउने भएका छन् ।

काठमाडौं उपत्यकामा चाडपर्व लक्षित सुपथ मुल्य पसल १२ स्थानमा खोल्ने बताइएको छ । विगतमा उपत्यकाको खाद्य संस्थानको कार्यालय थापाथली, सिंहदरवार, नेशनल ट्रेडिङ कार्यालय टेकु र साल्ट ट्रेडिङ कार्यालय कालिमाटीमा मात्र सुपथ मूल्यका पसल सञ्चालन गरेको नेपाल खाद्य संस्थानले यो बर्ष सहकारीमार्फत पसल सञ्चालन गर्दैछ । नेपाल खाद्य संस्थानका सूचना अधिकारी शंकर सापकोटा सुपथ मुल्य पसलबाट सर्वसाधारणले प्रतिकेजी ५ देखि १० रुपँयासम्म छुट पाउने बताउछन् । सुपथ मुल्यका पसलमा चामल, चिनी, नुन, तेल, दाल गेडागुडी लगायतका दैनिक उपभोग्य सामाग्री राखिने छन् ।

यता, विगतमा नीजि क्षेत्रको भन्दा प्रतिकिलो दश रुपैयासम्म छुट दिएर खसिबोका र च्याङग्रा बिक्रि गरेको खाद्य संस्थानले यो बर्ष स्थानीय तहले बढाएको करका कारण खसिबोका र च्याङ्ग्राको मूल्य धेरै नै वृद्धि हुने बताएको छ । खरिद मूल्यमा ढुवानी भाडा जोडेर आउने मूल्यमा नाफा नराखी बिक्री गर्ने योजना बनाएको खाद्य सस्थान आपूर्ति मन्त्रालय अन्तर्गतका अन्य सस्थानसंग पनि सहकार्य गरेर सुपथ मूल्य पसलमा अधिकतम सामान उपलब्ध गराइने बताउँछ । चाडपर्वको मौका छोपेर महंगी तथा कालोबजारी बढ्ने गरेपनि यतातर्फ अहिले नै सरकारको ध्यान पुगेको देखिदैन । यसले उसैपनि महंगीले गाँजेको जनजीवन त्यसमाथी पनि महंगो चाड बन्ने देखिन्छ ।

सिमित सामानमा केही छुट दिएर भएपनि, पुर्वी नेपालको इटहरी, लाहान, मिर्चौया लगायतका क्षेत्रमा पश्चिमका चितवन, बुटवल, लगायतका थुप्रै शहरमा सुपथ मूल्य पसल सञ्चालन गरेर महंगीमा थोरै भएपनि राहत दिने प्रयास गरिएको छ । केही पसल र सिमित खाद्यान्नमा दिइने छुटले मात्रै आम जनताको चाडपर्व सुपथ बन्ला त ?


क्याटेगोरी : अर्थ / रोजगार, सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्