Techie IT
Mission Khabar

महिला सशक्तिकरण भाषणमा मात्र सिमित :डा. यादव


डा.मञ्जलीकुमारी यादव । कुरा गर्न सजिलो तर ब्यवहारमा उतार्न धेरै गाह्रो । समय सापेक्ष हरेक कुरामा परिवर्तन आवश्यक हुन्छ । तर परिवर्तन र सकारात्मक सुधार गफ गरेजस्तो सहज भने छैन । हामीले बाहिरी रुपमा जे देख्छौ त्यो वस्तावमा हुदैन । बाहिर सुकिलो मुकिलो र शक्तिशाली देखिने ब्यक्ति भित्री रुपमा कुरुप र शक्तिहिन पनि हुनसक्छ । अहिलेको शताब्दीमा महिला अराक्षणको कुरा चल्नु हाम्रो देशमा महिला कति पछाडी र कमजोर छन् भन्ने उदाहरण हो ।

पश्चिमी देशहरुमा महिलाले पुरुषसँगै हरेक क्षेत्रमा अफ्नो योग्यता र कामले चर्चा फैल्याएका छन् । यहाँ महिला कोटा र अरक्षणको चर्चा कत्तिपनि छैन, न कि हाम्रो संविधान जस्तो आरक्षणको लिखत नै गरिएको छ । तर हामी अझैपनि रुढीवादी सोचले ग्रसित छौँ । महिलाको क्षमताको कदर त परको कुरा परिवार र समाज आफैले अधिकार प्राप्तीमा बन्देज लगाइरहेको छ । महिलाले हक अधिकार सअज तरिकाले प्रयोग गर्न पाउने अवस्था नै छैन । महिलालाई साथ दिने उनीहरुको योजना र चाहाना सुन्ने बुझ्ने परिवार निक्कै कम छन् । हामी यतिसम्म संकुचित छौँ कि महिला भनेको घर परिवार हेर्ने, बलबच्चा जन्माउने अनि स्याहार्ने मात्रै हुन भन्ने सोचिरहेका छौँ । यो पुरुष प्रधान देश र यसैमा हुकिएको मानिसकताको उपज हो ।

बितेको चुनावकै कुरा गरौँ, जतिबेला ३३ प्रतिशत अरक्षण दिदा पनि महिलालाई खोजेर राख्नु पर्ने, मनाउनुपर्ने अवस्था देखियो । अझ विपन्न, दलित, मधेशी, मुस्लिम महिला खोज्न त निक्कै गाह्रो भयो, दलहरुलाई । यसमा पनि धेरै जसो नेताकै श्रीमती आफन्त वा नजिकका चिनेजानेकाले मात्रै अवशर पाए । स्थानीय तहमा भने महिला सहभागिता मागभन्दा बेसी भयो । नेतृत्वमा आँच गर्नु नपर्ने भएकाले होला, सायद ।

मेयर र अध्यक्षको चुनाव जित्ने क्षमता किन महिलाले राखेनन ? कि अवशर नै दिइएन् ? यहाँ पनि घर चलाउने जस्तै सोच राखिएको छ । स्थानीय तहका गाउपालिका र नगरपालिकामा मेयर पुरुष र उपमेयर महिला नै हुनुपर्ने किन ? यो पनि पुरुषवादी सोचको एउटा कडी हो । महिला शसक्तिकरण र सबलिकरणका नियम कानुनलाई यस्तो सोचले कागजमा मात्रै सिमित बनाइदिएको छ ।

यहाँ दाइजो रहित बिवाह गराउने भन्दै ठूला–ठूला कुरा गरिन्छ, तर यो गफ परिकल्पनामा मात्र सिमित छ कहिँकत्तै लिपिबद्ध भएपनि कागजमा मात्रै छ । यस्तै पारिवारिक र सामाजिक सोचले महिला उत्पिडन र दाइजो प्रथा चलिरहेको छ । यता, जानेबुझेका पढेलेखेकाहरु नै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा दाइजो लिइरहेका छन् । छोरी पाउने बुबा आमालाई पैसाको जोहो गर्नुपर्ने दाईजो जुटाउनुपर्न बोझले सधै सताइरहेको छ । यसले पारिवारिक तनाव र कलह नै बढाएको छ । महिला र पुरषको असमानतासँगै हुर्किएको दाइजोको चलनले आज भोलि छोरी गर्भमा हुने भ्रुण हत्या बढेको छ । झन, हाम्रो समाजमा पुरुषले मात्रै बंश धान्ने भन्ने सोचको तिब्र विकास भैरहेको छ । महिला साच्चै कमजोर हुन वा कमजोर बनाइएको हो ? यसबारे गम्भिर बहस आवश्यक छ ।

दाइजोको निहुँमा महिलामा दिनदिनै कुट्पिट गर्ने, जलाइएका घटना अझै सार्वजनिक भैरहेका छन् । बोक्सी आरोपमा कालोमोसो दल्ने गाउँ निकाला गर्न छाडिएकै छैन । यी र यस्ता घटनामा हाम्रो परिवार र समाज रमिते बन्दैआएको छ । यसले महिलालाई सबल र सक्षम बनाउँला ? अहँ सम्भव देखिदैन । अहिले पनि महिलालाई शिक्षामा जोड दिने गरिदैन । किनकि पछि गएर तेहि चुलो– चौका नै गर्ने हुन् । पढाई लेखाइमा किन अनावश्यक पैसा खर्च गर्नु, बरु त्यही पैसाबाट दाइजो दिनुपर्छ भन्ने सोच आम अभिभावकमा गडेर बसेको छ । यहाँ महिलाहरु शिक्षा, स्वास्थ्य, सुविधा र अवशर सबै ठाउँबाट बञ्चित छन् । महिलालाई शसक्त बनाउने भनिएपनि परिवार, समाज र राष्ट्रले यसमा सकारात्मक कदम चालेकै छैनन ।

स्वस्थ्यकै कुरा गरौँ प्रायःजसो बच्चा जन्मिने बित्तिकै वा जाँच गराउन आउदा सोधिन्छ, छोरा हो कि छोरी ? छोरा भएमा खुसी हुने छोरी पाउँदा दुःखी हुनुपर्ने कारण के ?

कतिपय सरुवा रोग (जुन सम्पर्क गर्दा सर्ने रोग) मा पुरुषले नि केही औषधी सेवान गर्नुपर्छ । तर पुरुषले हामिले किन खाने, म मा केही समस्या छैन भन्दै पन्छिन्छन । यौनरोग प्रायजसो पुरुष संसर्गबाटै फैलिएका हुन्छन् ।

परिवर नियोजन कै कुरा गर्दा पनि पुरुषले महिलालाई नै महिला बन्ध्याकरण गराउन बाध्य पार्छन । ता कि पुरुष बन्ध्याकरण महिलाको भन्दा निक्कै सहज हुन्छ । सकारात्मक सुधार र परिवर्तनका कुरा भाषबाट केही कागजमा पुगेपनि ब्यवहारमा महिला अधिकार र शसक्तिकरण सुरु नै भएको छैन । परिवार र समाज बदल्न सकिन्छ । केवल खाँचो छ, सकारात्मक सोच र अठोटको । यहाँ न व्यक्तिले त्यो आँट गरेको छ, न परिवार, समाज अनि राष्ट्रले नै ।

बरु, महिला अधिकारका नाममा चर्को आवाज उठाउनेहरु स्वयम पनि महिलाको समस्या र रोदनलाई कमाउ धन्धा बनाइरहेका छन् । एकले थुकी सुकि सयले थुकी नदी भनेजस्तै हामी महिलाहरु नै अब अधिकार प्राप्तिको अभियानमा एकाकार र जागरुप बन्ने हो की ? समाज र घरसँग आफै झुक्नु नै महिलाको कमजोरी हो । अब आफ्नो सबलिकरण आफैबाट थाल्नुपर्छ ।

लेखिका डा.यादव स्त्री तथा प्रसुती रोग विशेषज्ञ हुन् ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, सकारात्मक सोच, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्