Techie IT
Mission Khabar

बहशमा ‘टुटल’ र ‘पठाउ’  : चर्चासँगै व्यवस्थापनको खाँचो, विश्वमा कहाँकहाँ छ मोटरसाइकल यातायात ?


काठमाडौँ– लिफ्ट कल्चर नेपालसँगै विश्वका धेरै देशमा लोकप्रिय छ । नेपालमा नाकाबन्दीका बेला निक्कै फस्टाएको ‘लिफ्ट कल्चर’ अहिले बिवाद र बहस बनिरहेको छ । लिफ्ट कल्चरबाट पाठ सिकेर केही सिर्जनशील युवाले व्यावसायिक रूपमा ‘टुटल’ तथा ‘पठाउ’ एप्स बनाएर सुरु गरेको अभियान अहिले चर्चामा छ ।

धेरै युवालाई रोजगारी दिएर यात्रु पनि लाभान्वित भएको मोटरसाइकल यातायात सेवा बन्द गर्ने कि कानुनी व्यवस्थाबाट बैधानिकता भन्ने बहसमा छ । केही दिनअघि प्रहरीले एकाएक यस्ता सेवामाथि रोक लगाएपछि यसले चर्चा पाएको हो । पछि प्रधानमन्त्री केपी ओलीले यस्ता सेवा अवरुद्ध नगर्न निर्देशन दिएपछि भने सञ्चालक र प्रयोगकर्ता दुबैलाई राहत मिलेको छ । नेपालमा मात्रै होइन यस्तो सेवा विश्वका निकै धेरै देशमा छ ।

मोटरसाईकलबाट यात्रुसेवा कहाँ कहिलेबाट ……..

चीनमा मोटरसाइकल ट्याक्सी सन् १९८० देखि १९९० को बीचमा प्रचलित थियो । बेइजिङ, सङ्घाई र ग्वोङझाओमा अहिले पनि यस्तो सेवा सञ्चालनमा रहेको पाइन्छ । यो निकै सस्तो सार्वजनिक यातायात सेवाको रुपमा प्रचलनमा छ । भारतको गोवामा मोटरसाइकल ट्याक्सी सेवा पाइन्छ । यो अन्य ट्याक्सीभन्दा सस्तो छ । भाडाको ट्याक्सीको कलर पहेंलो र कालो छ । भारतका आठ वटा राज्यले दुईपाङ्ग्रे सवारीलाई व्यावसायिक प्रयोजनका लागि बैधता प्रदान गरेका छन् । कम्बोडियाका अधिकांश सहरमा मोटरसाइकल ट्याक्सीलाई सस्तो सार्वजनिक यातायातका रुपमा लिइन्छ । चालकलाई युनिफर्म दिइएको हुन्छ । चालकलाई हेल्मेट अनिवार्य छ । यात्रुले पनि आफ्नो सुरक्षाका लागि हेल्मेट लगाउन सक्छन् ।

इन्डोनेसियामा लाइसेन्स विनाको यातायातका साधनका रूपमा मोटरसाइकल ट्याक्सी चर्चित छ । यसलाई ‘ओजेक’ नाम दिइएको छ । भियतनाममा भाडाको मोटरसाइकललाई सामान्य मानिन्छ । त्यसैगरी एसियाका थाइल्याण्ड, फिलिपिन्समात्रै होइन, युरोपको स्वीडेनमा समेत भाडाका मोटरसाइकलहरूले यात्रुलाई सुविधा दिदै आएका छन् । ब्राजिलमा सन् १९९४ देखि मोटरसाइकल ट्याक्सी सुरु भएको पाइन्छ । बैङ्क अफ ब्राजिलले १० वटा मोटरसाइकल किनेर भाडामा लगाउन सुरु गरेपछि बाउरु, साओ पाउलो आदि सहरमा सन् १९९६ बाट यो व्यवसाय फस्टाएको मानिन्छ ।

मेक्सिकोमा करिब एक हजार भाडाका मोटरसाइकल ट्याक्सी सञ्चालनमा छन् । नाइजेरिया र लाओसमा लाखौंको सङ्ख्यामा मोटरसाइकल ट्याक्सीहरु सञ्चालनमा छन् । अफ्रिकी देशमा पनि भाडाका मोटरसाइकल प्रचलनमा छन् । लन्डनमा सन् १९९० बाट भाडाका मोटरसाइकल प्रयोगमा आएको देखिन्छ । यता, अमेरिकाको क्यालिफोर्निया र न्युयोर्क सिटीमा पनि सन् २०११ बाट मोटरसाइकल हायर सर्भिसले बैधानिकता पाएको छ । क्यामरुनमा पनि मोटरसाइकल ट्याक्सीले आम सार्वजनिक यातायातका रुपमा सेवा दिदैआएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, यातायात / यात्रा, सकारात्मक सोच
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्