Techie IT
Mission Khabar

कर्णाली प्रदेशमा सुरु भयो, वैदेशिक रोजगारी सम्बन्धि सेवा, प्रदेशमै सुविधा पुगेपछि सेवाग्राही हर्षित


कर्णाली–वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले आइतबारदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट श्रम स्वीकृतिलगायतका सेवा सुरु गरेको छ ।

श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका अनुसार प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा गरेर श्रम स्वीकृति, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिने, सरोकारवालाबीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाइ गरी सेवा प्रवाहलाई सहजीकरण गर्नेलगायतका काम सुरु गरिएको बताइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्ने घोषणा गरेका थिए । त्यसलगत्तै सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि प्रदेशबाटै पुनः श्रम स्वीकति प्रदान गर्ने निर्णय लिएको हो ।

मन्त्रालयले पहिलो चरणमा गत पुस १५ गतेदेखि प्रदेश नं २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नं ५ को बुटवलबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराइसकेको छ । गत पुस २५ गतेदेखि गण्डकी प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पनि श्रम स्वीकृतिलगायत यससँग सम्बन्धित सेवा सुरु भएको अवस्थामा पछिल्लो पटक सुरु भएको कर्णाली प्रदेशको सेवा कस्तो रहन्छ, समयले देखाउनेछ ।

प्रदेशबाटै श्रम स्वीकृतिको व्यवस्था भएसँगै श्रम स्वीकृतिकै लागि राजधानी धाउनुपर्ने अवस्थाको अन्त्यको आशा गरिएको छ । कर्णालीवासी हजारौं खर्चेर काठमाडौँ आइ श्रम स्वीकृति लिनुपर्ने बाध्यताको अन्त्य हुने भएको भन्दै खुसी भएका छन् ।  सेवाग्राहीले अब श्रम स्वीकृतिका लागि काठमाडौँको ताहाचालमा लाइन लाग्नुपर्ने बाध्यता हट्ला त ?


क्याटेगोरी : देश / प्रदेश, सकारात्मक सोच, समाचार
ट्याग : #breaking, #hot

तपाईको कमेन्ट लेख्नुहोस्