Techie IT
Mission Khabar

भैरहवा ग्लाडिएटर्स र ललितपुर प्याट्रिएट्स इपीएलको फाइनलमा, शनिबार उपाधि भिडन्त


काठमाडौँ– काठमाडौँ किंग्स ११ लाई ६ विकेटले पराजित गर्दै भैरहवा ग्लाडिएटर्स एभरेष्ट प्रिमियर लिग (इपीएल) को फाइनलमा पुगेको छ । बिहीवार भएको दोस्रो क्वालिफायर्समा लिग चरणमा काठमाडौँसँग बेहोरेको हारको बदला लिँदै उपाधि भिडन्तमा स्थान बनाएको हो ।

लिगमा काठमाडौँले भैरहवालाई ७ विकेटले हराएको थियो । युवा बलर कुशल मल्लको उत्कृष्ट बलिङ र विदेशी खेलाडी राएन टेन डेसकाटेको ब्याटिङ मद्दतमा भैरहवा काठमाडौँलाई पराजित गर्न सफल भयो । डेसकाटेले ४५ रन बनाएपछि भैरहवाले काठमाडौँले दिएको १०० रनको लक्ष्य १६.५ ओभरमै ४ विकेट गुमाएर पुरा गर्यो । डच खेलाडी डेसकाटेले ३८ बल खेल्दै ५ चौका प्रहार गर्दा अर्का विदेशी खेलाडी रवीइन्दर सिंहले १९ बल खेल्दै ३ चौका र १ छक्काको मद्दतमा ३१ रन बनाए । ३५ रनमा २ विकेट गुमाएको अवस्थामा डेसकाटे र रवी इन्दरले तेस्रो विकेटका लागि ४२ रनको साझेदारी गरे । भैरहवाका प्रदिप ऐरी ३ र आरिफ शेख ५ रन बनाएर आउट भए । रोहित पौडेल ९ र कप्तान शरद भेषावकर ६ रनमा नटआउट रहे । बलिङमा काठमाडौँका सांसद शेखले २ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर मात्र १०० रन बनाउन सफल भयो । तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सकेको खेलमा काठमाडौँका लागि सन्दिप रजालीले सर्वाधिक २७ रन बनाए । प्रदिप शाहुले २५ तथा ओपनर अमित श्रेष्ठले १३ रन जोडे । इपीएल को यो सिजनमा पहिलो खेल खेलेका सन्दिपले २६ बल खेल्दै समान १ चौका र छक्का प्रहार गरे । प्रदिप शाहुले २२ बल खेल्दै ३ चौका प्रहार गरे । काठमाडौँका दुई खेलाडी शून्य रनमै मैदान छाड्न बाध्य भए । बलिङमा भैरहवाका कुशल मल्लले ३ तथा मोहम्म नाभिदले २ विकेट लिए । दुवैले ४ ओभर बलिङ गर्दा समान २० रन खर्चिएका थिए ।

भैरहवा ग्लाडिएटर्स र ललितपुर प्याट्रिएट्सबीच इपीएल–२०१८ को उपाधिका लागि शनिबार भिडन्त हुँदैछ ।


क्याटेगोरी : खेल / व्यायाम, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्