Techie IT
Mission Khabar

ईपीएल तेश्रो संस्करणको उपाधि ललितपुर प्याट्रिएट्सलाई, भैरहवा १४ रनले पराजित


काठमाडौं–भैरहवा ग्लाडिएटर्समाथि रोमाञ्चक जित निकाल्दै ललितपुर प्याट्रिएटसले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको तेश्रो संस्करणको उपाधि हात पारेको छ । शनिबार किर्तिपुरस्थित टियु मैदानमा भएको फाइनलमा ललितपुरले भैरहवा ग्लाडिएटर्सलाई १४ रनले पराजित गर्दै ईपीएलको उपाधि जितेको हो ।

ललितपुरले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको भैरहवाले २० ओभरमा ९ विकेट गुमाएर मात्र १ सय ४१ रन बनायो । अन्तिम ओभरमा भैरहवालाई जितका लागि १७ रन आवश्यक थियो । जतिबेला ब्याटिङमा रोहितकुमार पौडेल र कुशल मल्ल थिए । ललितपुरका योगेन्द्रसिंक कार्कीले पहिलो बलमै रोहितलाई ७ रनमा क्याच आउट गराए । दोस्रो बलमा कुलशले १ रन मात्र लिए । तेस्रो बललाई भुवन कार्कीले ब्याटसँग कनेक्ट नै गर्न सकेनन् । बलिङ गर्दागर्दै कुदेका कुलश मल्ल १६ रन बनाउदा रनआउट भए । चौथो बलमा २ रन लिदैगर्दा भुवन कार्की रनआउट भएपछि खेल ललितपुरको पोल्टामा पुग्यो । अन्तिम २ बल पनि भैरहवाले यतिकै खेर फाल्यो ।

भैरहवाकालागि ओपनर प्रदीप ऐरीले २२ बलमा ४ चौका र १ छक्काको मद्धतमा ३१ रन जोडे । अर्का ओपनर रायन टेन डोकास्टे १० बलमा १४ रन बनाएर आउट भए । ३२ बलमा १ चौका र १ छक्का सहित २९ रन जोडेका रवि इन्दर सिंह पवन सराफको बलमा क्याच आउट भए । आरिफ शेख १२ कप्तान भेषवाकर १४ र मोहमद नाबीद १० रनमा आउट भए । बलिङमा ललितपुरका ललितनारायण राजवंशीले ३ विकेट लिए । उनले ४ ओभरमा १७ रन खर्चिएका थिए । पवन सराफले २६ रन खर्चिएर २ विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको ललितपुर १९.१ ओभरमा अलआउट हुँदै १ सय ५५ रनमा सिमित भएको थियो । ललितपुरका लागि ओपनर जयकिशन कोल्सावालाले अर्धशतक प्रहार गर्दा अर्का ओपनर गौरव तोमारले २३ रन जोडे । कोल्सावाला र तोमारले पहिलो विकेटका लागि ५.१ ओभरमा ४१ रनको साझेदारी गरेका थिए । कप्तान ज्ञानेन्द्र मल्ल १० रनमा आउट हुँदा पवन सराफ ५ रनमा रनआउटको सिकार बने । सन्दीप जोराले २४ रन, कुलश भर्तेलले ११ रन बनाएका थिए । सोनु तामाङ ३ रनमा आउट हुँदा रासिद खान र ललितनारायण राजवंशीले खाता खोल्न सकेनन् ।

बलिङमा भैरहवाका कृष्ण कार्कीले २ ओभर बलिङ गर्दै १५ रन खर्चिएर ३ विकेट लिए । रायन टेन डोकास्टे र मोहमद नाबीदले समान २ विकेट लिए । शरद भेषवाकर र भुवन कार्कीले एक–एक विकेट लिएका थिए ।


क्याटेगोरी : खेल / व्यायाम, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्