Techie IT
Mission Khabar

कोरोना कहर : पर्यटन र रात्रीकालिन मनोरञ्जनात्मक व्यवसायमा ठूलो संकट


काठमाडौं । कोरोना महामारी रोकथामका लागि भन्दै जारी बन्दाबन्दी र निषेधाज्ञाका कारण मुलुकको आर्थिक अवस्था कमजोर बन्न पुगेको छ । कोरोना महामारीको पहिलो लहरमा गरिएको ९ महिना लामो लकडाउन र दोस्रो लहरका कारण जारी करिब ३ महिने निषेधाज्ञाले उद्योग व्यवसायसँगै काम गरेर खाने वर्गलाई सडकमा ल्याएको छ ।

मुलुकको कुल ग्राहस्थ उत्पादनमा महत्वपूर्ण योगदान रहेको औधोगिक र पर्यटन क्षेत्र आर्थिकरुपमा जिर्ण बनेका छन् । नेपाल राष्ट्र बैंक, उद्योग मन्त्रालय, राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको छाता संगठनहरुको अध्ययन अनुसार कोभिड १९ का कारण सवैभन्दा बढी लघु घरेलु तथा साना उद्योगहरु प्रभावित बनेका छन् । त्यसपछि पर्यटनमुलक उद्योग बढी प्रभावित बनेका छन् । यसले पर्यटन क्षेत्रतर्फका हवाइ सेवा, होटल, रेष्टुरेन्ट, दोहोरी साँझ, क्यासिनो, साहसिक खेल जस्ता क्षेत्र ठप्प जस्तै बनेका छन् । रात्रिकालिन मनोरञ्जनात्मक व्यवसायको मात्रै ८ अर्ब हाहारारिको लगानी डुब्ने अवस्थामा पुगेको छ । यहाँ आश्रीत १ लाख श्रमिक र उनीहरुसँग जोडिएका करिब ४ लाख नागरिकको रोजिरोटी नै समस्यामा परेको छ । ४० प्रतिशत व्यवसाय त बन्द हुने अवस्थामा पुगेको व्यवसायी आशिष खड्का बताउँछन् ।

डेढ बर्षको अवधिमा गरिएका बन्दाबन्दीका कारण अन्तराष्ट्रिय उडान नियमित हुन सकेको छैन । आन्तरिक उडान पनि पूर्ण क्षमतामा चल्न सकेका छैनन् । पर्यटकलाई आकर्षित गर्ने हरेक क्षेत्र कोरोनाको महामारीले डुबेका छन् । डेढ बर्षको अन्तरालमा पर्यटन व्यावसायले एक खर्बभन्दा बढीको घाटा व्यहोरेको छ । होटल व्यावसायमा दैनिक ७ देखि ८ करोडसम्म घाटा भइरहेको छ । मजदुरहरु हातमुख कसरी जोर्ने भन्ने समस्यामा छन् । मजदुरलाई तलब ख्वाउनका लागि मात्रै भए पनि सहज ऋणको व्यवस्था गरि दिनु पर्ने माग बढ्दो छ । पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल अघिल्लो सरकारले बजेटमार्फत पर्यटन व्यावसायीलाई राहत दिने खालका कार्यक्रम ल्याएको थियो । उनी अघिल्लो सरकारको राम्रा कार्यक्रमलाई वर्तमान सरकारले निरन्तरता दिनु पर्ने माग गर्छन् ।

उद्योग मन्त्रालयका अनुसार प्रतिकुल समयमा पनि ४० प्रतिशत ठूला मझौला उद्योगहरु चलेका थिए । उद्योग विभागका महानिर्देशक विनितमणी उपाध्याय धरायशी बनेको पर्यटन तथा अन्य उद्योग व्यवसायलाई सहुलियतपूर्ण कर्जा, पुर्नकर्जा उपलब्ध गराउनु आवश्यक भइसकेको बताउँछन् । विभागका अनुसार मुलुकको कुल ग्राहस्थ उत्पादनमा १४ प्रतिशत योगदान औद्योगिक क्षेत्रको रहेको छ । आयात निर्यात त्यति प्रभावित नभएका कारण व्यापार व्यावसाय क्षेत्रमा भने ठूलो असर नपरेको दाबी विभागको छ । निषेधाज्ञाका बेलामा पनि ६० देखि ७० प्रतिशतसम्म उद्योगहरु चलेको दाबी गरिएपनि विज्ञहरु भने ५० प्रतिशत उद्योगहरु बन्द भएको र ४ प्रतिशतमात्रै पूर्ण क्षमतामा संचालन भएको बताउँछन् । विभागका अनुसार यो अवधिमा १० प्रतिशत लघु घरेलु उद्योग बन्द भएका छन् । ४ प्रतिशत साना उद्योगहरु बन्द भएका छन् । तर, ठूला कारोबार गर्ने उद्योग भने चलिहेको विभागको भनाई छ ।

४ महिना अन्तराष्ट्रिय हवाई उडान बन्द हुँदा वैदेशिक लगानीमा समेत प्रभाव परेको छ । अघिल्लो बर्ष ३७ अर्ब ३८ करोड वैदेशिक लगानी भित्रिएकोमा असार ३१ गतेसम्मलाई आधार मान्दा बितेको एक बर्षमा ५ अर्ब १८ करोड वैदेशिक लगानी प्रतिवद्धतामा कमि आएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश, पर्यटन / सम्भावना

तपाईको कमेन्ट लेख्नुहोस्