Techie IT
Mission Khabar

कोरोना कहरमा बढ्दै पर्यटकिय चहलपहल, होमस्टेले समेत राख्न थाले पाहुना


काठमाडौं । मंगलबारबाट चितवनको सौराहामा जंगल सफारी खुला गरिएको छ । सौराहामा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले अब हात्ती, जिप सफारीसँगै डुंगा शयर गर्न पाउनेछन् । यी सबै सेवा मध्य वैशाखबाट बन्द भएका थिए । एकै समयमा बन्द भएको पोखराको फेवातालमा गत साताबाट डुंगा संचालनमा आइसकेको छ ।

आधा मात्र यात्रु राखेर डुंगामा सामाजिक दूरी कायम गर्दै सञ्चालन भैरहेको छ । नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाई देशभरका राष्ट्रिय निकुन्जहरु अब पर्यटकको लागि खुला भएको बताउँछन् । ‘पदयात्रा र हिमाल आरोहणमा स्थानीय तहहरुको प्रतिबन्ध हटेसँगै आन्तरिक पर्यटकीय गतिविधि चलायमान हुन थालेको छ’, गुरागाईले जानकारी दिए । सरकारले निषेधाज्ञा खुकुलो पार्दै लगेपनि क्वारेन्टिन बाहेकको प्रयोजनमा होटेल/रेष्टुरेन्ट भने खुला गर्ने निर्णय भएको छैन । र पनि, बिदाका दिन राजधानी आसपासका होटेल/रेष्टुरेन्टमा पाहुना भरिभराउ हुन थालेको पाइएको छ । होटेल संघ नेपाल (हान) का सदस्य युवराज श्रेष्ठ उपत्यका नजिकका गन्तव्यहरुमा सम्बन्धित स्थानीय तहहरुको समेत सहजिकरणमा व्यवसायिक चहलपहल बढेको बताउँछन् । उपत्यकाका होटेलहरु भने अहिलेसम्म पनि सुनसान छन् । पर्यटकिय हबका रुपमा परिचित ठमेल र दरबारमार्ग क्षेत्रमा पनि चहलपहल शुन्यप्राय छ ।

कोरोना महामारीको पहिलो र दोस्रो लहरले नराम्रोसँग थला पारेको आतिथ्य उद्योग धरासायी हुन लागेकोले पनि पर्यटन व्यवसायीहरुको पहलमा स्थानीय तहहरुले अवरोध हटाउन थालेका छन् । पर्यटन विभागका अनुसार यो वर्षायाममा घ्युन हिमाल (प्रथम) आरोहण गर्न पनि एक टोलीका चार जनालाई अनुमति दिइएको छ । होमस्टेहरुले पनि पाहुना राख्न सुरु गरेका काभ्रेको वेथानचोकस्थित माउण्ट महाभारत होमस्टे एण्ड रिट्रीटले साउन १७ गते देखी सेवा खोल्ने जनाएको छ । यो होमस्टेले खोप लगाएका वा पीसीआर रिर्पोट नेगेटिभ भएका पाहुनालाई बिलमा १० प्रतिशत छुटसहित स्वागत गर्ने भएको हो । नगरकोट सामुदायिक होमस्टले पनि सेवा सुचारु गरेको छ । आवश्यक सबै सुरक्षा सावधानी अपनाएर सेवा खुला गरेको होमस्टेका अध्यक्ष सुरज बास्तोला बताउँछन् । यातायात सुरु हुँदा अन्य व्यावसायलाई सहज हुन थालेको छ । सरकारले हवाई यातायात पूर्ण क्षमतामा खुला गरेको छ । विमान कम्पनीहरुले टिकटको मूल्य घटाएर यात्रु आकर्षित गरिरहेका छन् ।

यति एयरलाइन्सले आफ्नो मोवाइल एप र वेवसाइटबाट टिकट काट्दा प्रोमो कोड प्रयोग गर्दा सस्तो टिकट पाइने ‘यति सस्तो अफर’ नै जारी राखेको छ । काठमाडौं–पोखरा, काठमाडौं–सिमरा, काठमाडौं–विराटनगर, काठमाडौं–नेपालगन्ज र काठमाडौं–भद्रपुर रुटमा लागू यो अफर १६ साउनसम्म रहने कम्पनीले जानकारी दिएको छ । अन्य विमान कम्पनीहरुको पनि यात्रु आकर्षित गर्ने आकर्षक प्याकेज ल्याएका छन् । यस्ता अफरले पनि आन्तरिक पर्यटन बजारमा चहलपहल बढाएको पाइएको छ । डेढ वर्षदेखी रोकिएको पर्यटकिय गतिबिधिमा केही चलपहल देखिएसँगै नाट्टाका अध्यक्ष गुरागाई अब सरकारले पर्यटन व्यवसायी र कर्मचारीलाई प्राथमिकतामा राखेर खोप दिनुपर्ने बताउँछन् । आन्तरिक मात्र नभएर बाहृय बजारमा समेत नेपाल सुरक्षित रहेको सन्देश दिन यो आवश्यक भएको उनको दाबी छ । वर्षायाममा नेपालमा पर्यटन व्यवसाय सुस्त हुने भएकाले धेरै अपेक्षा राख्ने भन्दा पनि अहिले व्यवसाय सञ्चालनमै राखेर नेपालमा पर्यटन खुला भएको सन्देश दिन पर्यटन व्यवसायीहरु अग्रसर देखिएका छन् । खोप अभियान तीव्र बनाएका यूरोप र अमेरिकी मुलुकहरुले पर्यटक आकर्षित गर्न थालिसकेका कारण नेपालले पनि यस्तो सन्देश प्रवाह गर्न थाल्नुपर्ने गुरागाईंले बताए ।

व्यवसायीको माग र दबाबकाबीच पर्यटकिय गतिबिधि केही चलायमान बने पनि नियामक निकाय भने आगामी दिनमा पर्यटन क्षेत्र कसरी अगाडि बढ्छ, बढाउनुपर्छ भन्नेमा अन्यौल देखिएको छ । पर्यटन मन्त्रालय नेतृत्वविहीन हुँदा समेत यो अन्यौलता थप बढेको छ । आर्थिक वर्ष २०७८/७९ शुरु भएको १३ दिन नाघिसक्दा समेत नेपाल पर्यटन बोर्डले बजेट र योजना तय गर्न सकेको छैन ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, पर्यटन / सम्भावना

तपाईको कमेन्ट लेख्नुहोस्