Techie IT
Mission Khabar

वसन्त ऋतुमा ४ सय ५९ जना आरोही एवंम सहयोगी सगरमाथाको चुचुरोमा


काठमाडौं । गएको वसन्त ऋतुमा ४ सय ५९ जना आरोही एवंम सहयोगीले सगरमाथाको चुचुरो चुमेका छन् । पर्यटन विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार यसरी सगरमाथा पुग्ने आरोहीहरु विभिन्न ४४ वटा मुलुकका रहेका छन् । सबैभन्दा बढी आरोही नेपाली छन् । नेपाली आरोहीहरु भने सहयोगी आरोहीका रुपमा सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

नेपालबाहेक विश्वभरका ४३ मुलुकका आरोहीले यो सिजनमा सगरमाथा चढेका छन् । सगरमाथा चढ्न ४३ समूहका ४०८ आरोहीले अनुमति लिएका थिए । सगरमाथाको चुचुरोसम्म लैजान थप त्यति नै संख्यामा नेपाली सहयोगी आरोहीहरु खटिएका थिए । अनुमति लिएका मध्ये सगरमाथाको सफल आरोहण १८२ जनाले मात्र गरेका छन् । अन्य आरोही सहयोगीका रुपमा हिमाल चढेका हुन् । सगरमाथा आरोहणमा यो वर्ष सफलता प्राप्त दर ५० प्रतिशतभन्दा कम देखिएको छ । यो सिजनमा ३२ जना अमेरिकी नागरिक चुचुरो पुगेका छन् । तथ्यांक अनुसार दोस्रो स्थानमा चिनियाँ नागरिक छन् । यो सिजनमा २४ जना चिनियाँले सगरमाथा चढेका छन् । सफल आरोहण गर्ने भारतीय नागरिकको संख्या २० रहेको छ । बेलायतबाट १३ जनाले सफल आरोहण गरेका छन् । यो वर्षको चर्चित आरोही दलका रुपमा बहराइनका १० नागरिकले सगरमाथाको चुचुरो चुमेका छन् । यो टीममा बहराइनका राजपरिवारका एक सदस्य समेत समावेश थिए ।

यो सिजनमा रुसबाट ६, स्वीट्जरल्याण्ड, युक्रेन, रुस र ब्राजिलका ५/५ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । क्यानडा र नर्वेका ४\४ आरोही सफल भए । तथ्यांक अनुसार रोमानिया र जर्मनीका ३/३ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । अष्टि्रया, बेलारुस, आइसल्याण्ड, जापान, नेदरल्याण्ड्स, पाकिस्तान र पोल्याण्डका २/२ आरोहीले चुचुरो चुमेका छन् । उज्वेकिस्तान, तान्जानिया, ताजकिस्तान, ताइवान, स्वीडेन, दकि्षण अफि्रका, मोरोक्को, मोल्दोभा, मेकि्सको, लक्जेम्वर्ग, लाति्भया, कीर्गिन रिपबि्लक, इटली, इजरायल, इरान, हङकङ, फिनल्याण्ड, इस्टोनिया, क्रोएसिया, अष्ट्रेलिया र अर्जेणि्टनाका १/१ आरोही चुचुरो पुगेको विभागको तथ्यांक छ । अनुमति लिएका २२६ आरोही चुचुरो चुम्न असफल बनेका छन् । दुई अनुमति प्राप्त आरोहीको आरोहणकै दौरान निधन भएको थियो । निधन हुनेमा एक अमेरिकी र एक स्वीस नागरिक थिए ।

कोरोना महामारीको अन्यौलका बीच यो वर्ष सगरमाथासहित हिमाल आरोहणको अनुमति दिइएको थियो । यो वर्ष एक सिजनमा सगरमाथाका लागि सबैभन्दा बढी संख्यामा आरोहण अनुमति जारी भएको थियो । महामारी जारी रहेकै समयमा भएको उत्साहजनक सहभागिताबाट व्यवसायी र सरकार भने उत्साहित भएका छन् । यद्यपी यो वर्ष आरोहीले मौसमको चूनौति बढी नै सामना गर्नुपरेको थियो । १६ हिमाल चढ्न अनुमति जारी भएकोमा ६ वटामा मात्र सफल आरोहण भएको छ । यो सिजनमा सबैभन्दा धेरै आरोही सगरमाथा चढेका थिए । सगरमाथापछि दोस्रो स्थानमा ल्होत्से रहृयो । यहाँ ४ टीम लिडर, २१ आरोही र ४७ जना सहयोगी स्टाफ गरी कूल ७२ आरोहीले चुचुरो चुम्न सफल रहे । माउण्ट अन्नपूर्ण प्रथममा यो वर्ष २ टिम लिडर, २७ आरोही र ३९ सहयोगी स्टाफ गरी कुल ६८ जना चुचुरो पुगे । अमादब्लम हिमालमा २ टीम लिडर, १५ सदस्य र ६ सहयोगी गरी २४ आरोहीले सफल आरोहण गरेका छन् । माउन्ट पुमोरीमा १ टीम लिडर, ३ आरोही र ६ सहयोगीका साथ कुल १० आरोही चुचुरो पुगे । बरुण त्से हिमालमा एक लिडर र एक आरोही गरी कूल २ जना चुचुरो पुगेको विभागको तथ्यांक छ ।

यो वर्ष कुल १६ हिमाल चढ्न ८४ समूहका ७४२ जना आरोहीले अनुमति लिएका थिए । तर, सबै हिमालमा गरी ३० समूहका २६० आरोहीले मात्र चुचुरो चुमे । अनुमति प्राप्त आरोहीबाहेक ३७३ जना सहयोगी स्टाफले यी हिमाल चढेका छन् । हिमालको चुचुरो पुग्नेहरुको कुल संख्या ६३३ रहेको पर्यटन विभागले जानकारी दिएको छ ।


क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना

तपाईको कमेन्ट लेख्नुहोस्