Techie IT
Mission Khabar

चितवनको सौरहामा पर्यटकको चहलपहल, होटलदेखी हात्ति सफारिसम्म अफर


चितवन, काठमाडौं । कोभिड १९ (कोरोना भाइरस) सङ्क्रमणका कारण १५ महिना ठप्प बनेको पर्यटकीय गन्तव्य चितवनको सौरहा क्षेत्रमा चहलपहल बढ्न थालेको छ । लामो समय कोरोना प्रभावका कारण सुनसान बनेको सौरहा क्षेत्रमा ठूलो संख्यामा आन्तरिक र नगन्य संख्यामा विदेशी पर्यटक आउन थालेसँगै पर्यटन व्यवसायीहरू खुसी भएका छन् ।

वन्यजन्तु पर्यटनमा आधारित चितवनको सौरहामा पर्यटन व्यवसायीले दशैँ, तिहार प्याकेजसमेत सार्वजनिक गरिरहेका छन् । कोरोना सङ्क्रमण दर कम भएसँगै सौरहामा आन्तरिक पर्यटकको चहलपहल बाक्लिएको छ । विशेषगरी शनिवार र बिदाका दिनमा पर्यटक बढी मात्रामा सौरहा पुग्ने गरेका छन् । दुई वर्ष अगाडि यही समयमा जस्तो चहलपहल नदेखिए पनि बिस्तारै स्वदेशी–विदेशी पर्यटकको आगमन बढ्ने र सौरहा पुरानै लयमा फर्किने विश्वासमा स्थानीय पर्यटन व्यवसायीहरु छन् । कोरोना कहरमा कमी आएसँगै बिस्तारै खुल्दै गरेका सौरहाका पर्यटकीय होटलले आन्तरिक पर्यटकलाई आकर्षित गर्न विशेष छुट प्याकेज घोषणा गरेका छन् ।

जङ्गल सफारी लज सौरहाका सञ्चालक सुमन घिमिरेले ‘यस वर्षको दशैँ तिहार सौरहामा’ भन्ने प्याकेज सार्वजनिक गरिएको जानकारी दिनुभयो । प्रति–व्यक्तिबाट पाँच हजार पाँच सय रुपैयाँ लिएर दुई रात तीन दिनका लागि लन्च, डिनर र ब्रेकफास्टसहित थारु म्युजियम र हात्ती प्रजनन केन्द्र घुमाउने लगायतका सेवा प्याकेजमा राखिएको छ । पर्यटकीय चहलपहल बढ्दै गएपछि होटलहरू पुरानै अवस्थामा सञ्चालन गर्ने तयारीमा व्यवसायीहरू लागेका छन् । विदेशी पर्यटक कम देखिए पनि आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।

क्षेत्रीय होटल सङ्घ सौरहाका अध्यक्ष दीपक भट्टराईले पछिल्लो समय प्रायः होटलहरूले ४० प्रतिशत छुटसम्मका अफर प्याकेज घोषणा गरेर सौरहाको पर्यटन पुनस्र्थापनामा भुमिका खेल्न थालेको बताउनुभयो । सौरहा आउने पर्यटकमध्ये ९० प्रतिशत हात्ती सफारीमै रमाउँछन् तर लामो समय बन्द हुँदा हात्ती व्यवस्थापनमा सकस देखिएपनि सार्वजनिक बिदाका समयमा आन्तरिक पर्यटक बढेसँगै हात्तीको चहलपहल पनि बढेको छ । एक पटकमा एक घण्टामात्रै हात्ती घुमाउने गरेकोमा हिजो–आज पर्यटकले दुई घण्टासम्म हात्ती सफारी गर्न पाउने व्यवस्था गरिएको युनाइटेड हात्ती सञ्चालन सहकारीका अध्यक्ष ऋषिराम तिवारी जानकारी दिनुभयो ।

‘पहिला एक जनाले हात्ती सफारी गर्न अरू चार जना कुर्नपर्ने थियो, अहिले चार जना नपुगे पनि एक जनालाई मात्र भए पनि हात्ती सफारी गराइन्छ ।’ तिवारीले बताउनुभयो । सौरहामा सहकारी मातहतका ३३ वटा हात्ती पर्यटक घुमाउन प्रयोग हुनेगरेका छन् । हात्ती सफारीका लागि प्रति–व्यक्ति नेपालीका लागि एक हजार पाँच सय रुपैयाँ, सार्क राष्ट्रका पर्यटकलाई दुई हजार रुपैयाँ र विदेशी पर्यटकलाई दुई हजार पाँच सय रुपैयाँ शुल्क लिने गरिएको छ । जङ्गल सफारीमा विश्व प्रख्यात चितवनको सौरहामा पर्यटककै लागि केन्द्रित गरेर एक सय १० वटा होटल र एक सयभन्दा बढी रेस्टुरेन्ट सञ्चालनमा छन् ।

सौरहामा एक दिनमा ६ हजार पाँच सय पर्यटक बास बस्न सक्ने पूर्वाधार रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी, जङ्गल वाक, हात्ती सफारी, डुङ्गा सफारीमार्फत वन र वन्यजन्तु अवलोकन तथा थारूलगायतका जनजातिका भाषाभाषी र संस्कृति अवलोकनका लागि सौरहा चिनिँदै आएको छ । अझ उदाउँदो सुर्य र अस्ताउदो सुर्यको दृश्याबलोकनका लागि समेत पर्यटकहरुले सौरहाको बासलाई रोज्नेगर्दछन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, पर्यटन / सम्भावना

तपाईको कमेन्ट लेख्नुहोस्