हेलिकप्टर दुर्घटना बारे छानविन गर्न समिति गठन, किन असुरक्षित नेपाली आकाश ?

काठमाडौं। मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति दुख व्यक्त गर्दै सरकारले छानबिन गर्न समिति गठन गरेको छ । मंगलबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले घटनाबारे दुःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।
मनाङ एयरको हेलिकप्टर दुर्घटना परेर ज्यान गुमाएका सबै मृतकप्रति मन्त्रिपरिषद् बैठकले श्रद्धाञ्जली अर्पण गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । मंगलबार बिहान हेलिकप्टर दुर्घटनामा परेर कास्कीको रुपा गाउँपालिका स्थायी घर भएका क्याप्टेन चेतबहादुर गुरुङसहित ५ जना मेक्सिकोका नागरिकले ज्यान गुमाएका थिए । रुखमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक आँकलन गरिएपनि अध्ययन समितिको प्रतिवेदनले यसको वास्तविकता बाहिर ल्याउने छ ।
दुर्घटनाको जोखिम
दुर्घटनापछि छानविन वा जाँचबुझ आयोग, समिति बन्ने तर उनीहरुले दिने प्रतिवेदनका सुझाब कार्यान्वयन नहुने गरेको भन्दै सरकारमाथी नै प्रश्न उठ्ने गरेको छ । समिति बनाएर अध्ययनका नाममा लाखौँ खर्च गर्ने सरकार विज्ञको सुझाब कार्यान्वयन गरेर उड्डयन क्षेत्रलाई सुरक्षित बनाउनतर्फ गम्भिर बन्नुपर्ने आवज उठेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल आकाश सुरक्षित रहेको दाबी गरिरहँदा नेपाली आकाशमा एकपछि अर्को हवाई दुर्घटना दोहोरिएका छन् । सन् २०२३ को सात महिनामा मात्रै ४ वटा हेलिकप्टर दुर्घटना भएका छन् । समग्र हवाई दुर्घटनामा सन् २०२३ मा मात्रै ५ वटा दुर्घटना भएका छन् । १५ जनवरी २०२३ (१ माघ २०७९) मा पोखरामा भएको यती एयरको दुर्घटनायता नेपाली आकाशमा चार वटा हेलिकप्टर दुर्घटनामा परिसकेका छन् । यो वर्ष भएका हेलिकप्टर दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । नेपाली आकाशमा अहिलेसम्म ४२ वटा हेलिकप्टर दुर्घटनामा पर्दा १०४ जनाको मृत्यु भएको छ । पहिलो पटक सन् १९७९ मा लाङटाङमा ६ जनाले ज्यान गुमाउनेगरि दुर्घटना भएको थियो ।
किन असुरक्षित बन्दैछ नेपाली आकाश ?
एयर ट्राफिक कन्ट्रोलको निर्देशन नमान्ने, कुहिरोभित्र छिर्नेलगायतका तोकिएका मापदण्ड पालना नगर्ने, जमिनकै नजिक हेलिकप्टर उडाएर हवाई गतिविधि गर्ने र तोकिएकोभन्दा बढी लोड बोक्ने गतिविधिमा हेलिकप्टर संलग्न भएको यसअघि दुर्घटनाका विषयमा बनेका छानबिन प्रतिवेदनले देखाएका छन् । यसअघिका अधिकांश दुर्घटनाका अध्ययनले खराब मौसमलाई पाइलटले चुनौती दिँदा दुर्घटना बढेको देखाएपनि सुझाब कार्यान्वयनमा सरकार र सरोकारवालाको ध्यान पुग्न सकेको छैन ।
हेलिकप्टर दुर्घटनापछि गठन भएका अधिकांश छानबिन आयोगले नेपालको कठिन भौगोलिक अवस्थिति, छिनछिनमा परिवर्तन हुने मौसम र मौसम तथा भूगोलको परवाह नगरी उडान गर्ने पाइलटको लापरबाहीलाई मुख्य कारण मान्ने गरेका छन् । तर यस्ता अध्ययन निष्कर्ष र सुझाब कार्यान्वयन भन्दा हेलचेक्राई बढ्दा दुर्घटना बढिरहेका छन् ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, पर्यटन / सम्भावना
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्