Techie IT
Mission Khabar

काष्ठमण्डप अब नागरिकस्तरबाट बन्ने, १९ करोडको लागत अनुमान


काठमाडौं–प्राचिन तथा पुरातात्विक महत्वको काष्ठमण्डप अब नागरिकस्तरबाट बन्ने भएको छ । काष्ठमण्डप पुननिर्माण बारे काठमाडौं महानगरपालिका र स्थानीयको अगुवाईमा गठित काष्ठमण्डप निर्माण समितिबीच सम्झौता भएपछि नागरिक स्तरबाट बन्ने निश्चित भएको हो । मंगलबार निर्माण सम्झौतामा हस्ताक्षर भएको हो ।
काष्ठमण्डप मौलिक स्वरुपमा निर्माणको चरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभागको परामर्शमा काठमाडौं महानगरपालिकाको रणनीतिक नेतृत्व गर्नेछ । काष्ठमण्डपको पुरातात्विक, ऐतिहासिक तथा प्राचिन महत्व यथावत रहनेगरी डिजाइन गरिएको नक्सा पुरातत्व विभागले स्वीकृत गरिसकेको छ । सोही नक्साको आधारमा निर्माण अघि बढ्ने बताइएको छ । निर्माण पक्षले विज्ञ समूहसँग प्राविधिक परामर्श लिने सहमति भएसँगै काष्ठमण्डपको निर्माण सर्वस्वीकार्य हुने अपेक्षा गरिएको छ ।

काठमाडौं क्षेत्र नम्बर ८ क प्रदेशसभा सदस्य राजेश शाक्यको अध्यक्षतामा ५५ जना स्थानीय, विषय सम्वद्ध सरोकारवाला व्यक्ति सम्मिलित काष्ठमण्डप पुनर्निर्माण समिति गठन भएको थियो । केन्द्र सरकार, प्रदेश सरकार तथा अन्य व्यक्ति संघ संस्था समेतबाट आर्थिक स्रोत जुटाएर पुनर्निर्माण गर्ने गृहकार्यमा निर्माण पक्ष जुटेको छ । टिम्बर कर्पाेरेशनसँग आवश्यक काठ खरिद गर्ने र काष्ठमण्डप पुनर्निर्माण कार्यमा अनुदान\सहयोग प्राप्त भएको, खर्चको विवरण सार्वजनिक गर्न ३\३ महिनामा सार्वजनिक सुनुवाई गर्ने सहमतीमा उल्लेख छ । कार्यक्रम समेत सञ्चालन गर्नु पर्नेछ ।

प्यागोडा शैलीमा निर्माण गरिने काष्ठमण्डपको निर्माण लागत १९ करोडको अनुमान गरिएको छ । तत्कालै महानगरले ५० लाख आर्थिक अनुदान निर्माण समितिलाई उपलव्ध गराएपछि निर्माणले गति लिने बताइएको छ । तीन बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्माणको गति कसरी अघि बढ्छ, यसले अनुमानलाई सहज बनाउने छ । ऐतिहासिक, पुरातात्विक तथा प्राचीन महत्वको स्मारक काठमण्डप २०७२ वैशाख १२ को भूकम्पबाट भत्किएको थियो ।


क्याटेगोरी : पर्यटन / सम्भावना, विकास / पुर्वाधार, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्