Techie IT
Mission Khabar

देशव्यापी बन्दै होमस्टे : पर्यटकलाई आतिथ्य सत्कार, स्थानीयको जीवनस्तर उकास्ने सजिलो व्यवसाय


काठमाडौं\चितवन\पोखरा – होटल र रेस्टुराँ व्यवसाय मात्रै होइन्, अहिले स्थानीयद्वारा सञ्चालित होमस्टे पनि आम्दानीको राम्रो श्रोत बनिरहेका छन् । यसरी स्थानीयको आया आर्जन उकास्ने होमस्टे बिशेषगरी पोखरा, चितवन, बन्दिपुर, नगरकोट क्षेत्रमा बढी छन् । स्थानीयको जिविकोपार्जन सहज र सरल बनाएका होमस्टेले आर्थिक संस्कृती, कला र परम्पराको प्रचार प्रसारसँगै संरक्षण गर्ने माध्यम पनि बन्न थालेका छन् ।
केही पर्यटकिय गन्तब्यबाट सुरु भएको होमस्टे अहिले पर्वत, स्याङ्जा, पाल्पा, बर्दिया, नुवाकोट, रसुवा, काभ्रे हुँदै देशव्यापी बन्न थालेको छ । बर्दिया राष्ट्रि निकुञ्ज लगायतका त्यस क्षेत्रका प्रकृतिक छटाको आनन्द लिन पुग्नेहरुको पहिलो रोजाई होमस्टे नै बन्ने गरेको छ । यहाँको थारु संस्कार र सांस्कृतिक कार्यक्रम पर्यटकलाई सधै जाउँ जाउँ बनाउने खालका छन् ।

अझ, सुनसान गाउँहरु होमस्टेमा आउने पर्यटकको चहलपहलका कारण चलायमान बन्न थालेका छन् । यसरी निक्कै व्यस्त हुने र स्थानीयको जीविकोपार्जनमा खास प्रभाव पार्ने होमस्टे सबैभन्दा बढी चितवन र पोखरा क्षेत्रमा छन् । योसँगै कास्की, पर्वत र स्याङ्जाको सिमानामा पर्ने पञ्चासेको चहलपहल पनि बाक्लिएको छ । लमजुङ मात्रै होइन, अछामको डल्ला होमस्टेले देशव्यापी चर्चा मात्रै बनेको छैन खप्तड क्षेत्रको पर्यटक लोभ्याउने गन्तब्य बनेको छ ।
सिन्धुपाल्चोक भेटेचौरको चिया बगान क्षेत्र मात्रै होइन्, पूर्वी नेपालको चिया बगान ईमाल क्षेत्रका स्थानीयको जीवनस्तर पनि होमस्टेले अचम्मेसँग परिवर्तन गरिदिएको छ । चितवनस्थित माडीको शिवद्वार क्षेत्रको विकटता र अभाव होमस्टे र पर्यटकको चहलपहलले तोडिएको छ ।

चितवन निकुञ्जले सौराहा–पटिहानी र पटिहानी–माडीको पर्यटक पदमार्ग निर्माण गरेपछि होमस्टेमा पर्यटकको चहलपहल बढेको हो ।
होमस्टेमा आउने पाहुनाहरुको स्वागत, सत्कार, खानपीन, सांस्कृतिक कार्यक्रमका लागि अहिले स्थानीयको व्यस्तता बढेको छ । बन्दीपुरको व्यस्तता पनि होमस्टेले बढाईदिएको छ । होमस्टे सोचेभन्दा सफल भएपछि स्थानीय दंग समेत छन् । देशव्यापी बन्दैगरेको होमस्टेले स्थानीयस्तरमै रोजगारको अवसरसँगै पर्यटनको विकास र संस्कृतिको जगेर्नामा बल मिलेको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, पर्यटन / सम्भावना, समाचार, होटल / रेस्टुरेन्ट
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्