Techie IT
Mission Khabar

गुर्जा हिमआँधीमा मृत्युभएका नौँ जनाको शब शंकलन, ८ जनाको शब काठमाडौं ल्याइदै


म्याग्दी/काठमाडौं– म्याग्दीको गुर्जा हिमाल आधार शिविरमा आएको हिमआँधीमा परेर ज्यान गुमाएका नौँ जनाको शव शंकलन गरेर पहिचान गरिएको छ ।

बेपत्ता भएको चार दिनपछि आइतबार बिहान भेटिएका आरोहण दलका नौ जनाको शव संकलन गरेर पहिचान गरिएको हो । पहिचान गरेको शबमध्ये ८ वटा काठमाडौं ल्याइने र स्थानीय एक जनाको शव बेनी पठाउने बताइएको छ । हेलिकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले पहाडको खोँचबाट नौ जनाको शव संकलन गरेका थिए ।

असोज २४ गते राति सुतिरहेको अवस्थामा आएको हिमआँधीमा परेर दक्षिण कोरियाका जहन लि, च्याङ हो किन, इल जिन रिम, योङ जिक यु र जुन मो जियोङको मृत्यु भएको छ । यस्तै, धौलागिरि गाउँपालिका एक गुर्जाका २९ वर्षीय नेत्रबहादुर छन्त्याल, संखुवासभाको हटियाका ३९ वर्षीय छिरिङ भोटे, संखुवासभाकै भोटेखोला गाउँपालिका तीनका २१ वर्षीय लाक्पा साङबु भोटे र सोलुखुम्बूका फुर्वा भोटेको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रेकिङ  क्याम्पस नेपालमार्फत गुर्जा हिमाल आरोहण र पदयात्राका लागि गएका उनीहरू असोज २४ गते रातिको हिमआँधीमा परेका थिए । आधार शिविर पुगेको टोली सम्पर्कबिहीन भएपछि शुक्रबार गुर्जाका बासिन्दा आधार शिविरतर्फ गएका थिए । स्थानीयवासीको टोली आधार शिविर पुगेर शुक्रबार राति फर्किएपछि शनिबार बिहान मात्रै दुर्घटना बारे जानकारी प्राप्त भएको थियो । बेनीदेखि चार घण्टा गाडी र आठ घण्टा पैदल हिँडेपछि पुगिने गुर्जा गाउँदेखि थप पाँच घण्टा हिँडेपछि आधार शिविर पुग्न सकिन्छ ।

पर्यटन विभागबाट ६० दिनको अनुमति लिएर उनीहरु गुर्जा हिमालको पहिलो पटक आरोहण गर्न आधार शिविर पुगेका थिए । पदयात्रामा पुगेका दक्षिण कोरियाका हङ जियोन चोस र गाइड लाक्पा शेर्पा भने गुर्जामै सुरक्षित छन् । चोस बिरामी भएपछि लाक्पा र उनी गुर्जामै रोकिएका थिए ।


क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्