Techie IT
Mission Khabar

गण्डकी प्रदेशले होमस्टेका लागि ३० करोड अनुदान दिदै, बन्लान त पोखरामा ३ सय नमूना पर्यटकीय गाउँ ?


पोखरा– स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाईको गन्तब्य हो, पोखरा । गण्डकी प्रदेशले पोखराको पर्यटन उद्योगलाई थप विस्तार गर्ने भन्दै तीन सय गाउँमा होमस्टे (घरबास) सञ्चालनको नीतिसँगै अनुदान प्रक्रियाको काम अघि बढाएको छ ।

सरकारले होमस्टे सञ्चालन र अनुदान उपलब्ध गराउन भन्दै ३० करोड रुपैयाँ बजेट समेत बिनियोजन गरेको छ । यसअघि नै होमस्टे सञ्चालन कार्यविधि बनाएको सरकारले अनुदान कार्यविधि तयार पारेर प्रस्ताव पेश गर्न होमस्टे सञ्चालकलाई आह्वान नै गरेको छ । अनुदानका लागि प्रक्रिया पुरा गरेर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा निवेदन पेश गर्न सकिनेछ । ३ सय गाउँलाई नमूना पर्यटकीय गाउँका रुपमा विकास गर्ने लक्ष्य सहित सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याएको बताइएको छ । स्थानीय तहसँग समन्वय गरेर जुनकुनै गाउँले अनुदानका लागि प्रस्ताव पेश गर्न सक्नेछन् । होमस्टे सञ्चालकले अधिकतम १० लाख रुपैयाँ भन्दा बढी अनुदान पाउने छैनन् ।

‘सामुदायिक घरबास सञ्चालन व्यवस्थापन समितिबाट गाउँपालिकाले अनुमति दिएको कागजातसहित प्रस्ताव आह्वान गरेको मितिले ३० दिनभित्र निर्दिष्ट अनुदानका लागि पेश गरेपछि सम्झौता हुने’ अनुदान कार्यविधिमा उल्लेख छ । परियोजना प्रस्ताव स्वीकृत भएर सम्झौता भएको १५ दिनभित्र होमस्टे समितिले कार्य सञ्चालन सुरु गनुपर्ने सर्त अघि सारिएको छ । सबै प्रक्रिया पूरा भएर सम्झौता भएसँगै पहिलो किस्ता बापत ४० प्रतिशत अर्थात ४ लाख रुपैयाँ समितिको खातामा जानेछ । होमस्टे सञ्चालनको दर्ता र नविकरण गरिएको प्रमाणपत्रको प्रतिलिपि, स्थानीय तहको सिफारिस, अन्य साझेदार संस्था भए सो सम्बन्धि विवरण र परियोजना सञ्चालन गर्ने सामूहिक प्रतिवद्धताको निर्णय अनुदानका लागि अनिवार्य पेश गर्नुपर्नेछ ।

होमस्टे सञ्चालन तथा प्रवद्र्धनसँग सम्बन्धित पर्यटक सूचना केन्द्र, सामुदायिक भवन, बहुउद्देश्यीय भवन, सार्वजनिक सभागृह, प्रदर्शनी स्थलमा अनुदानको रकम व्यवस्थापन समितिले खर्च गर्न पाउने कार्यविधि छ । पूर्वाधार निर्माण र पर्यटकीय महत्वका विषयमा अनुदान रकम खर्च गर्न पाइनेछ । यस्तै, हस्तकला केन्द्र, कोसेली घर, सौगात गृह, साँस्कृतिक संग्राहलय, सार्वजनिक पुस्तकालय, पार्क र उद्यान, भ्यूटावर बनाउन प्रवेशद्वार, पदमार्ग¸ ढुंगेमार्ग बनाउन यो रकम खर्च गर्न सकिनेछ । फोहोरमैला प्रशोधन तथा व्यवस्थापन प्लान्ट, स्वच्छ खानेपानीको प्रवन्ध, ढल व्यवस्थापन, इन्टरनेट, टेलिफोन वा विद्युत सुविधाका लागि पनि अनुदान रकम खर्च गर्न पाइनेछ ।

अहिलेसम्म बजेट कार्यान्वयन गर्न नसकेको प्रदेश सरकारले ३ सय वटै गाउँबाट होमस्टे चलाउन प्रस्ताव आए पहिलो किस्ता वापत १२ करोड रुपैयाँ अनुदान बाड्नेछ । २०२२ मा २० लाख पर्यटक भित्र्याएर पर्यटन वर्ष मनाउँने संघीय सरकारले निर्णयलाई फलदायी बनाउन होमस्टे सञ्चालन अभियानलाई अघि बढाएको प्रदेश सरकारको दाबी छ ।


क्याटेगोरी : पर्यटन / सम्भावना, विकास / पुर्वाधार, होटल / रेस्टुरेन्ट
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्