Techie IT
Mission Khabar

नेपाल आफैले सगरमाथाको उचाई नाप्दै, एक बर्षमा सार्वजनिक गर्ने तयारी


काठमाडौंँ–सर्वोच्च शिखर सगरमाथाको देशका रुपमा बिश्वभर प्रख्यात छ, नेपाल । तर
सगरमाथाको  देश नेपाल आफैले भने अहिलेसम्म यसको उचाइ मापन गर्न सकेको छैन । अरूले नापिदिएको उचाइँलाई विश्वास गर्दै आएको नेपालले अब भने आफैले सगरमाथाको उचाइ नाप्ने तयारी गरेको छ ।

अहिले नेपालले मान्ने गरेको सगरमाथाको उचाइ सन् १९५४ मा भारतले मापन गरेको हो । यसले अहिले सर्वव्यापी मान्यता पाएको छ । यस्तै, सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेका थिए । यी सबैको मापन फरक–फरक आएको छ । अमेरिकाको मापनमा आठ हजार ८ सय ५० मिटर उचाइ निस्किएकोमा चिनले आठ हजार ८ सय ४४ मिटर मापन गरेको थियो । चीनले गरेको मापनमा भने हिउँलाई घटाएर चट्टानको भागलाई मात्रै कायम गरिएको बताइएको छ । नेपालले भने आठ हजार ८ सय ४८ मिटर उचाइ भन्दै भारतले गरेको मापनलाई आधिकारिक मान्दै आएको छ ।

वि.सं. २०७२ को भूकम्पपछि नापी विभागले गरेको सर्भेमा काठमाडौँका विभिन्न ठाउँको उचाईमा परिवर्तन आएपछि सगरमाथाको पनि नयाँ उचाई मापन गर्नुपर्ने आवाज उठेपछि सरकारले सक्रियता देखाएको थिये । भारतको सर्भे विभागले नेपालको सिरहा जिल्लाको माडर भन्ने स्थानसम्म नापी गरेर नेपालको नापी विभागलाई तथ्य उपलब्ध गराइदिने र त्यहाँबाट नापी विभागले उदयपुर हुँदै विभिन्न बिन्दु तय गरी सगरमाथाको नाप निकाल्दै काम अघि बढेको छ । नेपालको भौगोलिक चिनारीका रूपमा रहेको सगरमाथाको उचाईलाई नेपालले नै मापन गर्नसक्छ भन्ने स्थापित गराउने गरी काम अघि बढेको सरकारी दाबी छ ।

भारतले ट्रेङ्गुलेशन विधिबाट सगरमाथाको मापन गरेको थियो भने अमेरिका र चीनले जिपिएस विधिबाट सगरमाथाको मापन गरेका थिए । ट्रेङ्गुलेशन विधि परम्परागत र जिपियस विधि अत्याधुनिक हो । नेपालले यी दुवै विधिबाट सगरमाथाको उचाई मापन गरिरहेको छ । अघिल्लो वर्ष माघदेखि सगरमाथाको उचाई मापन गर्नका लागि सर्वेक्षण सुरु भएकोमा ट्रेङ्गुलेशन विधिबाट सिरहाको माडरदेखि सोलुखुम्बुको पतालेसम्म सर्भे भइसकेको भारतबाट माडरसम्मको उचाई प्राप्त हुने बित्तिकै पतालेसम्मको उचाई निस्कने र त्यसपछि पताले डाँडा र छुल्यामु हुँदै पिके हिल स्टेसनको उचाइ निकाल्ने काम हुनेछ । १२ वटा विन्दुको लेबलिङ गरी त्यसबाट सगरमाथाको उचाइ नापिन्छ ।

भूसतहको संरचना(जीईओईडी) र यसको आधारमा समुद्री सतहबाट सगरमाथाको उचाइ निकाल्न ३१५ वटा विन्दुबाट सर्वेक्षण गर्ने योजना छ । गत आर्थिक वर्ष २०७४र७५ देखि नै बजेट विनियोजन गरेर काम भएको र अबको एक वर्षपछि नेपाल आफैले मापन गरेको सगरमाथाको नयाँ उचाइ सार्वजनिक हुने बताइएको छ ।


क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्