Techie IT
Mission Khabar

नेपाल र जापान छिट्टै सिधा उडान गन्तब्यमा जोडिदै, नयाँ सहकार्यको थालनी आजबाटै


काठमाडौं–नेपाल र जापानबिच हवाई सेवा सम्झौता हुने भएको छ । बुधबार जापानका विदेशमन्त्री तारो कोनो औपचारिक भ्रमणका क्रममा नेपाल आएसँगै दुई देशबिच हवाई सम्झौता हुन लागेको हो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र समकक्षी कोनोबीच बुधाबार अपराह्न हुने मन्त्रीस्तरीय वार्तापछि उक्त सम्झौता हुने बताइएको छ । यस्तै भेटका क्रममा नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवर्धन गर्ने सम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण गरिनेछ । परामर्श संयन्त्र निर्माण सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान भएपछि यसले औपचारिकता पाउनेछ । १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउने मन्त्री कोनो दुईदिन नेपालमा रहनेछन् । नेपाल–जापान सिधा उडान प्रारम्भ हुँदा भ्रमण वर्ष २०२० मा पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ ।

जापानको श्रम बजारमा धेरैभन्दा धेरै नेपाली श्रमिक पठाउन, आपसी मैत्री, समझदारी र सहयोग अभिवृद्धिमा भ्रमणलाई सदुपयोग गर्ने नेपाली रणनीति रहेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापानबाट हुनसक्ने सहयोगका क्षेत्रमा छलफल गर्ने परराष्ट्रले तयारी गरेको छ । जापान सरकारले नेपालीहरूका लागि हालै त्यहाँ रोजगारीका अवसर खुला गरेको सन्दर्भमा त्यसबारे विस्तृत छलफल, प्रक्रियागत समस्या निरुपण, नेपाल वायुसेवा निगमको विमानलाई जापानको ओसाका र नारिता विमानस्थलमा शीघ्र उडान तथा अवतरण गरेर दुई देशबिच सिधा सम्पर्क स्थापना गर्ने परराष्ट्रले तयारी गरेको छ । करिब २१ घण्टाको बसाईका क्रममा कोनोले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली लगायतसँग शिष्टाचार भेट गर्ने छन् ।

खाद्य सहायता कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारलाई हालसालै ३५० मिलियन जापानी येन बराबरको अनुदान उपलब्ध गराएको जापान नेपालको विकासको पुरानो साझेदार पनि हो । बनेपा–सिन्धुली–बर्दिबास सडक, राजधानीको गोङ्गबुमा नयाँ बसपार्क निर्माण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिकीकरण, कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाजस्ता पूर्वाधार निर्माणमा सहयोग गरेको जापानले नेपालको सडक पूर्वाधार र जलविद्युत क्षेत्रमा निरन्तर सहयोग र साथ दिदै आएको छ । एक सय चालीस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना र काठमाडौँ–नागढुङ्गा सुरुङमार्ग निर्माणका निम्ति प्राविधिक सहयोगका साथै सहुलियतपूर्ण ऋण उपलव्ध गराएको जापानले शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइका क्षेत्रमा पनि विभिन्न कार्यक्रम र सहयोग दिदै आएको छ ।

नेपाल र जापाबिचको कूटनीतिक सम्बन्ध ६३ वर्ष पुरानो भए पनि छैटौं शताब्दीदेखिको सांस्कृतिक सम्बन्ध तथा बौद्धभिक्षु इकाइ कावागुचीबाट सन् १८९९ मा भएको नेपाल भ्रमणले दुई देशबिचको जनस्तरको सम्बन्धलाई सुदृढ गरेको विश्वास गरिन्छ ।


क्याटेगोरी : पर्यटन / सम्भावना, विकास / पुर्वाधार, विश्व / विविध, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्