Techie IT
Mission Khabar

अमेरिकी गुप्तचर निकायले गर्यो कोरोना भाइरस मानव निर्मत नभएको पुष्टि, राष्ट्रपति ट्रम्प भन्छन् चिनिया प्रयोगशालाबाटै आएको हो


काठमाडौं\अमेरिका । अमेरिकी गुप्तचर अधिकारीहरुले कोरोना भाइरस मानव निर्मित वा आनुवांशिक रुपमा परिवर्तन गरी बनाइएको भाइरस नभएको स्पष्ट पारेका छन् । यसको उद्गम थलो वा उत्पती कहाँ बारे अनुसन्धान जारी रहेपनि अमेरिकी गुप्तचर अधिकारीहरुले भाइरस मानव निर्मित होइन भन्ने एकिन गरेका हुन् ।

अमेरिकाको राष्ट्रिय गुप्तचर निकायले भाइरसको संक्रमण मानवमा जनावर हुँदै आएको वा प्रयोगशालामा भएको दुर्घटनाका कारण फैलिएको भन्ने बारे अनुसन्धान गरेको थियो । संक्रमण जनावर हुँदै मानवसम्म फैलियो वा प्रयोगशालामा भएको कुनै दुर्घटनाका कारण हो भन्ने बारेको अनुसन्धान भने जारी रहेको बताइएको छ ।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाट आएको प्रमाण आफूसँग भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) चीनको प्रवक्ता जस्तो भएको आरोप लगाउँदै आएका छन् । चीनले भने भाइरसको संक्रमण फैलिन नदिनका लागि अमेरिकाले गरेको काम प्रभावकारी नहुँदा लगाइएको आरोप भन्दै खण्डन गर्दै आएको छ ।

कोरोना भाइरसको संक्रमण पहिलो पटक गएको डिसेम्बरमा चीनको वुहान शहरमा देखिएको थियो । त्यसयता विश्वभर ३३ लाख भन्दा बढी मानिस संक्रमित हुँदा करिब साँढे २ लाखले ज्यान गुमाएका छन् । सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा मात्रै ११ लाख हाराहारी संक्रमित पुग्दा ६३ हजार बढीको मृत्यु भएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, पर्यटन / सम्भावना

तपाईको कमेन्ट लेख्नुहोस्