Techie IT
Mission Khabar

धारासायी बन्दै बेलायतका नेपाली रेष्टुरेन्ट, कर छल्न नगदमा कारोबार गर्नेहरु सरकारी ग्रेन्टबाट समेत बन्चित


काठमाडौं लन्डन । कोरोनाको महामारीसँगै गरिएको लक डाउनका कारण बेलायतमा सञ्चालित नेपाली रेष्टुरेन्ट संकटग्रस्त बनेका छन् । नेपलिज क्याटरिङ एसोसिएसन बेलायतका अनुसार करिब अढाइसय देखि ३ सयसम्मको संख्यामा रहेका नेपाली रेष्टुरेन्टमा आर्थिक मन्दी देखिएको हो ।

बेलायतमा थुप्रै रेष्टुरेन्टमा ताला लाग्दा केही भने ‘टेक वे’ सेवा सञ्चालन गरिरहेका छन् । तर ‘टेक वे’ डेलिभरीबाट विगतको तुलनामा ६५ प्रतिशतमात्र कमाइ हुने ब्यवसायीहरु बताउंछन् । स्टाफलाई फर्लो स्किममा राखेको बताउने व्यवसायीहरु १० वर्षमा यस्तो संकट कहिल्यै भोग्नु नपरेको बताउँछन् । भर्खर सिंढी चढ्दै गरेका नेपाली व्यवसाय कोरोना भाइरस महामारीले संकटतर्फ धकेलिएका मात्रै छैनन्, बेलायतमा ५ वर्षसम्म आर्थिक मन्दी लम्बिने भविष्यवाणी गर्न थालिएको छ । कोरोनाको महामारीसँगै जारी भएको लकडाउने हस्पिटालिटी क्षेत्रको भविष्य अन्यौल बनेको छ ।

लेस्टरमा विगत आठ वर्षदेखि इटालियन रेस्टुरेन्ट ‘ओजी’ (टुडे) र ‘गोर्खा एम्बेसी’  सञ्चालन गर्दै आएका व्यवसायी एवं इटालियन सेफ दयानिधि सापकोटाको कोभिड १९ महामारीका कारण अहिले दुवै रेष्टुरेन्टमा ताला लागेको छ । वार्षिक ७ लाख पाउण्ड टर्न ओभर हुने रेस्टुरेन्ट अहिले मासिक ३० हजार पाउण्ड घाटामा रहेको उनले बताए । कर्मचारीलाई तलव दिन सरकारले बेहोर्ने ८० प्रतिशत (फर्लो स्किम) र ‘ग्रान्ट’ ले केही सघाउ पुगेपनि आम्दानीका हिसाबले रेष्टुरेन्ट धारासायी बन्न थालेका छन् । मिडल्यान्डमा मात्र नेपालीका करिब सय रेस्टुरेन्ट छन् । ग्रेसटस्थित बेलिफ रेष्टुरेन्टमा पनि अहिले टेक वे सेवामात्र सञ्चालन रहेको सञ्चालक विष्णु खरेल बताउँछन् । आगामी जुन जुलाइ महिनासम्म लकडाउन नखुले रेष्टुरेन्ट व्यवसाय धारासायी हुने उनले बताए ।

लन्डनको पट्नीस्थित मुनाल तन्दुरीका सञ्चालक विजय थापाले पनि ‘टेक वे’ सर्भिसमात्र गरिरहेको बताए । नेपलिज क्याटरिङ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष रहेका थापाले सरकारले दिने ग्रान्टले केही राहत दिएपनि व्यवसाय निरन्तर घाटामा जादा आर्थिक भार बढेको बताए । नेपलिज क्याटरिङ एसोसिएसन यूकेमा आवद्ध करिब ७० प्रतिशत सदस्यहरुले अहिले टेक वे खोलेर व्यासाय टिकाउँदै आएका छन् ।

बेलायतमा रेष्टुरेन्ट व्यवसाय अरु दुई चार वर्ष संकटग्रस्त हुने चिन्तामा नेपाली व्यवसायीहरु छन् । कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले विगत डेढ महिनादेखि लागू गरेको लकडाउन कहिले टुंगिने अनिश्चित छ । रेष्टुरेन्ट सुचारु गर्न अनुमति भएपनि सोसल डिस्टेन्सिङ प्रावधान अनुसार १०० जनाको सिटमा ५० जनामात्र अट्दा बिजनेश धान्न गाह्रो हुने व्यवसायीहरु बताउँछन् । अझ, कोभिड १९ को औषधि वा खोप नबन्दासम्म रेष्टुरेन्ट वा आउटिङ गएर खाने, रमाइलो गर्ने व्यक्तिहरु घट्दो क्रममा छन् ।

सरकारको पोलिसीले ‘बिजनेश रेट’ का आधारमा प्रत्येक व्यवसायलाई १० देखि २५ हजार पाउण्डसम्म ग्रान्ट प्रदान गरेको छ । जुन महिनासम्म कर्मचारीको ८० प्रतिशत ज्याला सरकारले ब्यहोर्ने भएको छ । अधिकांश नेपालीले कर छल्न नगदमा काम गरेकाले सरकारको स्किमबाट निक्कै धैरै नेपाली व्यवसायी बञ्चित हुनेभएका छन् ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, पर्यटन / सम्भावना, होटल / रेस्टुरेन्ट
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्