Techie IT
Mission Khabar

नेपाली भूमी मिचेर भारतबाटै मानसरोवर जाने विवादास्पद सडक, नेपालले २५ हजार पर्यटक गुमाउँदै


काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि खेलेको नयाँ सडक धार्चुला लिपुलेक लिङ्क रोडका कारण नेपालले करिब २५ हजार पर्यटक गुमाउने अनुमान गर्न थलिएको छ । भारतको उत्तराखण्डस्थित पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्र र नेपालको लिपलेक हुँदै कैलाश मानसरोवर यात्राका लागि खोलिएको यो सडकले नेपालको बाटो हुँदै मानसरोबर पुग्ने पर्यटक गुमाउनुपर्ने आँकलन गरिएको हो ।

अहिले नेपालबाट प्रत्येक वर्षको मे महिनादेखि सेप्टेम्बर महिनासम्म करिब २० देखि २५ हजार भारतीयले मानसरोवरको यात्रा गर्नेगरेको तथ्यांक छ । यसरी मानसरोवर जान नेपाल आउने भारतीय पर्यटकले यात्रको ३० देखि ६० प्रतिशत रकम नेपालमै खर्च गर्ने गरेकाले मानसरोवर यात्रामा क्रियाशिल पर्यटन व्यवसायीले समेत समस्या ब्यहोर्नुपर्ने चिन्ता बढ्न थालेको छ । तत्कालका लागि भारत र चीनबीच भएको सहमतिअनुसार करिब एक हजार जना मात्रै भारतको मार्ग भएर मानसरोवर जान पाउँछन् । यो बाटो सहज नभएपनि भारतले खोलेको बाटोबाटै मानसरोवरको यात्रा गर्न चीनले अनुमति दिए नेपाली पर्यटनमा दूरगामी क्षति पुग्नेसम्मको आँकलन गर्न थालिएको छ । यो वर्ष भने कोरोना भाइरस (कोभिड(१९) को महामारीका कारण चीनले कैलाश मानरोवर जान अनुमति दिएको छैन ।

भारतले नेपाली भूमिबाट बिवादास्पद बाटो खोलेपछि बाँकेको नेपालगञ्ज लगायत पश्चिम क्षेत्रमा मानसरोवर धार्मिक पर्यटकलाई नै लक्षित गरेर खोलिएका तारे तथा ठूला होटल समेत समस्यामा पर्ने चिन्तामा छन् । नेपालहुँदै मानसरोवर जाने यात्रु घट्दा हुम्ला सिमीकोट हवाई रुटमा सेवा दिइरहेका वायुसेवा कम्पनी समेत प्रभावित हुनेछन् । अहिले ७ वटा हेलिकोप्टेर कम्पनीले मानसरोवर जाने यात्रु बोक्ने गरेका छन् । नेपालगञ्जबाट सिमीकोटमा विमानबाट आउजाउ गर्ने पर्यटकले करिब २५ हजार खर्चन्छन् भने हेलिकप्टर चार्टरमा प्रतिव्यक्ति ४० हजारसम्म खर्च गर्ने पर्यटकहरु छन् । मानसरोवर जान आएका एक जना यात्रुले तीन हजारदेखि ४५ सय डलर (साढे ३ लाखदेखि साढे ५ लाखसम्म) खर्च गर्ने गरेकोमा ३० प्रतिशत रकम नेपालमा नै खर्च हुने गरेको यस क्षेत्रका पर्यटन व्यवसायीहरुको अनुमान छ । मानसरोवरका यात्रीहरूलाई लक्षित गरेर नेपालमा खुलेका थुप्रै ट्रेकिङ तथा ट्राभल एजेन्सी र भरीयाहरुले समेत समस्या ब्यहोर्नुपर्ने हो कि भन्ने चिन्ता व्यक्त गर्न थालिएको छ ।

मानसरोवर जान नेपाल आउने भारतीय पर्यटक हेलिकोप्टर चार्टर गरेर सगरमाथा आधार शिविर, मुक्तिनाथ र दामोदर कुण्डसम्म जाने, माउन्टेन फ्लाइटमा नेपालका विभिन्न शौन्दर्य क्षेत्र र पशुपतिनाथसहितका विभिन्न धार्मिक धार्मिक तथा पर्यटकीय गन्तव्यमा पुग्ने भएकाले भारतले खोलेको नयाँ विवादास्पद सडकखण्डले नेपालको समग्र पर्यटन क्षेत्रमा असर पार्ने आँकन भैरहेको छ । यद्यपी कमजोर भूधरातल र जोखिमयुक्त सडक खण्डका कारण तत्कालै नयाँ रुटको सडकमा पर्यटक आकर्षित भैहाल्छन भन्ने छैन ।


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, पर्यटन / सम्भावना
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्