Techie IT
Mission Khabar

विदेशमा अलपत्र नेपालीको उडान तालिका र भाडा सार्वजनिक, यसरी हुँदैछ उद्धार


काठमाडौं । सरकारले विदेशमा अलपत्र नेपालीलाई विभिन्न प्राथमिकता क्रमका आधारमा उद्दार सुरु गरेको छ । कोरोना भाइरसको संक्रमण र बन्दाबन्दीबाट समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउन भन्दै सरकारले उडान तालिका र भाडादर सार्वजनिक गरेको छ । पहिलो चरणको प्राथमिकतामा परेका ३० देशका २४ हजार १ सय ४८ नेपालीको स्वदेश फिर्तीका लागि संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका तयार पारेर कोभिड १९ व्यवस्थापन केन्द्र सिसीएमसीलाई बुझाएको हो ।

नेपालीहरुलाई विदेशबाट फर्काउन नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज पठाइने भएपनि केही उडान विदेशी एयरलाइन्समार्फत हुनेछन् । ३० देशबाट नेपालीलाई ल्याउन ६७ वटा उडानमा नेपाल एयरलाइन्सले २४, हिमालय एयरलाइन्स १९ र विदेशी जहाजले २४ वटा उडान भर्नेछन् ।।

जेठ २९ गतेदेखि असार ११ गतेसम्मको पहिलो चरण उडान तालिका
जेठ २९ गते कुवेतबाट दुई उडान भएका छन् । जेठ ३२ मा बंगलादेश, असार १ मा माल्दिभ्स, मलेसिया, साउदी अरब, सिंगापुर, कम्बोडिया र ओमनमा अलपत्र परेकाहरुले नेपाल आउन पाउनेछन् ।

असार २ मा संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, श्रीलंका र माल्दिभ्सबाट उडान हुने छन् । असार ३ को उडानबाट अष्ट्रेलिया, थाइल्यान्ड, बहराइन, बंगलादेश, कतार र संयुक्त राज्य अमेरिकामा अलपत्र परेकाले नेपाल आउन पाउनेछन् । असार ४ मा साउदी अरब, संयुक्त अरब इमिरेट्स, मलेसिया र ओमनबाट र असार ५ मा जापान, कुवेत, साउदी अरब र नाइजेरिबाट नेपाल आउने उडान हुने छ ।

असार ६ मा साइप्रस, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, बंगलादेश र युरोपियन युनियनबाट नेपालीको उद्धार उडान र असार ७ मा दक्षिण कोरिया, ओमन, कुवेत र मलेसियाबाट उडान हुनेछ ।  असार ८ मा अष्ट्रेलिया, थाइल्यान्ड, पाकिस्तान र कतार, असार ९ मा जापान, माल्दिभ्स, संयुक्त अरब इमिरेट्स र युगान्डा तथा असार १० मा साउदी अरब, कुवेत र असार ११ मा साइप्रस अनि इजरायलबाट नेपालीको उद्धार उडान हुनेछ ।

यस्तो छ, भाडादर
साउदीको दमामबाट आउने नेपालीले ५९० अमेरिकी डरल, रियादबाट आउनेले ६३० अमेरिकी डलर र जेद्दाबाट आउनेले ७७० अमेरिकी डलर भाडा तिर्नुपर्नेछ । यता, यूएईको दुबई, आबुधाबीबाट र सारजाहबाट आउनेका लागि समान ५०० अमेरिकी डलर भाडा लाग्नेछ । ओमानबाट ५१० अमेरिकी डलर, मलेसियाको राजधानी क्वाललम्पुरबाट आउनेका लागि ५२० अमेरिकी डलर, कतारको दोहाबाट आउनेले ५४५ अमेरिकी डलर र बहराइनबाट उडान भर्नेले ५४५ अमेरिकी डलर तथा कुवेतबाट आउनेका लागि ५७० अमेरिकी डलर भाडा लाग्नेछ ।

माल्दिभ्सबाट आउनेले ५०५, जोर्डनबाट आउनेले ८१५, साइप्रसबाट आउनेका लागि ८७५, जापानको नारिताबाट आउनेका लागि ९३५ अमेरिकी डलर भाडा निर्धारण गरिएको छ । सुडानको खार्तुनबाट आउनेका लागि ९४० अमेरिकी डलर, फ्रयाङकफर्टबाट आउनेका लागि १२५५ अमेरिकी डलर, लन्डनबाट आउनेका लागि १३४० अमेरिकी डलर भाडा लाग्नेछ । बांगलादेशबाट आउनेका लागि १६५ अमेरिकी डलर, नयाँ दिल्लीबाट २०५ मुम्बइबाट ३१०, बैंगलोरबाट ३३५ अमेरिकी डलर भाडा तोकिएको छ । बैंककबाट आउनेका लागि ३९० अमेरिकी डलर, कम्बोडियाबाट आउनेका लागि ४०० र हङकङबाट आउनेका लागि ५५० अमेरिकी डलर भाडा लाग्नेछ ।

पर्यटन मन्त्रालयले बनाएको उडान तालिका र भाडादर अनुसार के कति नेपाली स्वदेश आउँछन भन्ने तथ्यांक र बाँकी व्यवस्थापनको काम सिसीएमसी मार्फत हुनेछ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, पर्यटन / सम्भावना, विश्व / विविध
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्