Techie IT
Mission Khabar

शुक्रबार १२ सय नेपाली स्वदेश फर्किदै, टिकट काट्न नसक्ने हजारौँ नेपाली कामदार खाडीमै अलपत्र


काठमाडौं । सरकारले निर्धारण गरेको शुल्क तिरेर टिकट काट्न नसक्ने हजारौँ नेपाली अहिले खाडीमै अलपत्र छन् । मलेसियामा ६३४३, साउदी अरबमा १३ हजार, कतारमा ५११६, युएईमा ४११०, कुबेतमा ५७११, ओमानमा ६१९, बहराइनमा ६०० जना उद्धार उडानको प्रतिक्षामा छन् । यी मध्ये अधिकांश टिकट काट्न समेत नसक्ने अवस्थका कारण अलपत्र छन् ।

विदेशमा रहेका आप्रवासी नेपाली कामदारहरु आफैले टिकट काट्न सक्ने र कम्पनी मार्फत टिकट दिइएकाहरुलाई मात्र सरकारले उद्धार उडानमा प्राथमिकता दिएको गुनासो गरिरहेका छन् । रोजगारी गुमेको ३, ४ महिना भएकाहरु खाने, बस्ने खर्च समेत अभाव हुँदा मानसिक तनावमा परेका छन् । उद्धारको आवश्यकता भएका, बेखर्ची भएकालाई आफ्नो सरकारले प्राथमिकतामा नराखेको भन्दै खाडी मुलुकमा रहेका नेपालीहरु दुख व्यक्त गरिरहेका छन् ।

यता, विदेशमा अलपत्र नेपाली नागरिकको उद्दार गर्ने क्रममा शुक्रबार १ हजार २ सय नेपाली स्वदेश फर्किदैछन् । क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का अनुसार कुवेतबाहेक सबै मुलुकबाट शुक्रबार दुई दुई वटा उडान हुँदैछन् । बहराइनमा दुई र मलेसियाको एउटा उडान नेपाल एयरलाइन्सको जहाजमार्फत हुँदैछ । युएईको हिमालयन र एयर अरेविया, कुवेतको जजिरा एयरलाइन्स र मलेसियाको एउटा उडान हिमालय एयरलाइन्सबाट हुँदैछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहिबार एकै दिन १५ अन्तर्राष्ट्रिय उडान भएका थिए । यी उडान मार्फत एक हजार ३०० भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिताबाट २४२ यात्रु र दुई बच्चा तथा कुवेतबाट १४९ यात्रु काठमाडौं ल्याएको छ । सोही एयरलाइन्सका दुई जहाज नेपाली ल्याउन जुन २५ मै बहराइन उडेका थिए । हिमालय एयरलाइन्सले अबुदाबीबाट १५४ र दोहाबाट १५६ यात्रु काठमाडौं ल्याएको छ । कुवेतबाट १४६ यात्रु र एक बच्चा ल्याएको जजीरा एयरलायन्स थप नेपालीको उद्धारका लागि पुनः कुवेत उडेको थियो । कतार एयरवेजले दोहाबाट १४७ यात्रु काठमाडौं ल्याएको छ । फ्लाइ दुबईले दुबईबाट १८९ यात्रु र एक बच्चा ल्याएकोमा सोही एयरलाइन्सको अर्को उडानले एक यात्रु काठमाडौं ल्याउने उडान भरेको थियो ।

उद्धार उडानबाट नेपाल ल्याइएकाहरुलाई सबैभन्दा पहिला काठमाडौं, भक्तपुर र ललितपुरमा राखिएका होल्डिङ सेन्टरमा लगिनेछ । त्यहाँ सेनाको व्यवस्थापनमा उनीहरुको सामान्य स्वाथ्य जाँच र विवरण लिने काम गरेर सम्बन्धित प्रदेशमा क्वारेन्टिनमा बस्ने गरी पठाइने गरिएको छ । विदेशबाट आउने नागरिकले पीसीआर रिपोर्ट ल्याएको खण्डमा उनीहरुले होम क्वारेन्टिनमा बस्न पाउनेछन् । इच्छुकले शुल्क तिरेर होटल क्वारेन्टिनमा बस्न पाउनेछन् ।


क्याटेगोरी : ओझेलका पात्र, देश / प्रदेश, पर्यटन / सम्भावना, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्