Techie IT
Mission Khabar

भएन ब्यापार, व्यवसायी भन्छन–सरकार र बैंकबाट राहत नपाए आन्दोलन गर्छौँ


काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले भाडा छुट, करमा सहुलियत, बैंकको ब्याजदर मिनाहा र किस्ता तिर्ने समय अवधि बढाउनुपर्ने माग गर्दै सरकारलाई ध्यानाकर्षण गराउँदै आएको छ । व्यापार व्यवसाय नहुँदा घरभाडा, बिजुली तिर्न पनि हम्मे–हम्मे परेको दाबी गर्दै महासंघले बैंकको ब्याज, कर तथा किस्तामा सहुलियतको माग गर्दै आएको हो ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सरकारसँग राहतको माग गरेको तथा लकडाउनभरको ब्याजदर मिनाहा, किस्ता तथा ब्याज तिर्ने भाका एक वर्ष पर सार्न राष्ट्र बैंकसँग समेत आग्रह गरेको जानकारी दिए । पुनर्कर्जा कोषमा साना उद्योगी–व्यवसायीहरुको पहुँच सुनिश्चित गरिनुपर्ने, कर्जाको ब्याजदर बढीमा ८ प्रतिशत कायम गरिनुपर्ने र स्प्रेड रेट घटाएर ३.५ प्रतिशत कायम गरिनुपर्ने माग व्यवसायीले अघि सारेका छन् । सार्वजनिक यातायात सुचारु नहुदा ब्यापार ठप्प भएको भन्दै महासंघले आफूहरुको माग पूरा नभए सडक आन्दोलनको बिकल्प नहुने चेतावनी दिएको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंक तथा वित्तीय क्षेत्रका संयोजक कुमार कार्की लकडाउनका कारण उद्योग व्यवसायी मर्कामा परेको भन्दै तत्कालै ब्याज छुटको घोषण गर्नुपर्ने दाबी गर्छन । राष्ट्र बैंकले व्यवसायीहरुको समस्यालाई सहज बनाउन केही प्रयास गरेपनि पर्याप्त नभएको उनको जिकिर छ । राष्ट्रिय ब्यापार संघले समेत घर भाडा मिनाहाका साथै, ब्यजदरमा सहुलियत, किस्ता तिर्ने थप समय र राज्यलाई तिर्नुपर्ने बिभिन्न कर मिनाहा लगायतको माग सरकारसँग राख्दै आएको छ । सरकारले लकडाउन केहि खुकुलो बनाए पनि व्यापार व्यवसायमा लकडाउन कायमै रहेको, ग्राहक आउने आशैआशमा दिन विताउनुपरेको व्यवसायीहरु बताउँछन् ।

बैंक तथा वित्तीय क्षेत्रमा पैसा हुँदा पनि कसैले पनि व्यवसाय तथा उद्योगमा लगानी गर्न नचाहेको गुनासो समेत व्यवसायीको छ । सरकारले निजी सवारीसाधन चलाउन अनुमति दिए पनि सार्वजनिक सवारीसाधन भने सञ्चालनमा आएका छैनन् । सार्वजनिक सवारीसाधन सञ्चालनमा नआएसम्म टाढा टाढाबाट किनमेलमा निश्किनेहरु लोकल बजारमै सिमित हुने र न्यूरोड, खिचापोखरी लगायतको कोर शहरको व्यापार व्यवसायमा सुधार नआउने देखिएको छ । लकडाउन खुकुलो बनेसँगै बजारमा भीडभाड बढेपनि होलसेल ब्यवसायीहरु छिटफुट ब्यापार गर्दै ग्राहक कुरेर बस्नुपर्ने अवस्थामा छन् ।


क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्