Techie IT
Mission Khabar

पर्यटकिय नगरी सौराहामा चहलपहल शुरु, निकुञ्ज भने अझै खुलेन


काठमाडौं/सौराहा । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल बिहीबारबाट खुलेसँगै चहलपहल शुरु भएको छ । होटलमा पर्यटक आउन शुरु गरेका छन् भने रेष्टुरेण्टमा ग्राहक देखिन थालेका छन् । होटल खुलेकै दिन दुई विदेशी पर्यटक आएको जङ्गल वाइल्डलाइफ क्याम्पका सञ्चालक नारायण भट्टरार्ईले बताए । क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष समेत रहनुभएका भट्टरार्ईले होटलको सरसफाइ, मर्मत सम्भारसँगै उच्च सावधानीका साथ पाहुनाको स्वागतमा व्यवसायीहरु जुटेको जानकारी दिए ।

जङ्गल सफारी लजका सुमन घिमिरेले समेत खुलेकै दिन तीन वटा कोठा बुकिङ भएको बताए । स्थानीय र आसपासका क्षेत्रबाट चार महिनापछि खुलेको सौराहा हेर्न पुग्नेहरु देखेर होटल तथा पर्यटन व्यवसायीहरु केही आशावादी देखिएपनि यहाँको होटल र पर्यटन व्यवसाय चलायमान हुन भने केही समय लाग्ने देखिएको छ । सौराहामा ११० होटल सञ्चालनमा छन् । बेसिजनमा होटल खुल्दा आशावादी भएका व्यवसायी होटललाई पूर्ववत् अवस्थामा फर्काउन सस्तो र आकर्षक प्याकेज बनाउन व्यस्त छन् । सङ्घका अध्यक्ष दीपक भट्टरार्ईका अनुसार अहिले स्थानीय कर्मचारीलाई बोलाएर होटल सञ्चालन गरिएको छ ।

सौराहामा होटलमा प्रत्यक्षरूपमा पाँच हजार ५०० भन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएपनि अहिले २५ प्रतिशत कर्मचारीलाई काममा बोलाइएको र पर्यटक बढेसँगै अन्यलाई बोलाइने व्यवसायीहरु बताउँछन् । होटलसँगै रेष्टुरेण्ट पनि खुलेका छन् । सौराहामा १०० हाराहारी रेष्टुरेण्टमध्ये आधा खुलेका र ग्राहक समेत आउन थालेको व्यवसायीहरु बताउँछन् । दशैँ र दशैँपछि हुने पर्यटकीय गतिविधिलाई लक्षित गरी होटल र रेस्टुरेन्ट खोलेर अहिलेबाट तयारी थालिएपनि पर्यटकहरु घुम्नका लागि लालाहित हुने चितवन राष्ट्रिय निकुञ्ज भने खुलेको छैन । बर्सातको समयमा निकुञ्जभित्र जिप सफारी बाहेक अन्य गतिविधि नरोकिँने भएपनि कोरोना महामारीका कारण सबै बन्द अवस्थामा छ ।

सौराहा आउने पर्यटक टिकट काटेर निकुञ्ज प्रवेश गरि हात्ती चढेर स्थानीय सामुदायिक वनमा रमाउने, राप्ती नदीमा डुङ्गा चढ्ने, जङ्गलमा पैदल यात्रा गर्ने गर्दछन् । यसका लागि निकुञ्जले औपचारिकरूपमा अनुमति दिनुपर्दछ । निकुञ्ज बन्द रहँदासम्म सौराहको होटल तथा पर्यटन चलाएमान नहुने बताइँदैगर्दा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेलले भने कोरोनाको सङ्क्रमण जारी नै रहेकाले अध्ययन र छलफल गरेर मात्र निकुञ्जले अनुमति दिने गरि तयारी भएको जानकारी दिए ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, पर्यटन / सम्भावना
ट्याग : #breaking, #hot, #चितवन राष्ट्रिय निकुञ्ज, #जङ्गल सफारी, #निकुञ्ज प्रवेश, #रोजगारी, #सौराहको होटल तथा पर्यटन, #हात्ती सफारी, #होटलमा पर्यटक

तपाईको कमेन्ट लेख्नुहोस्