Techie IT
Mission Khabar

हवाई यातायातले गुमाए ६ अर्ब, ८० प्रतिशतले यात्रु घट्ने आँकलन


काठमाडौं । कोरोना भाइरसको महामारी सुरु भएपछि चैत २०७६ यता हवाई यातायात नराम्रोसँग प्रभावित छ । उद्धार उडानका क्रममा कतिपय अन्तर्राष्ट्रिय उडान भएपनि यी उडानले व्यवसायिक मुनाफा दिन सकेका छैनन । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार चैतदेखि असार २०७६ अर्थातः आर्थिक वर्ष २०७६/७७ मा मात्र वायुसेवा कम्पनीले ६ अर्ब रुपैयाँ बराबरको आम्दानी गुमाएका छन् ।

वायुसेवा कम्पनीको आम्दानी गुम्दा यसको असर प्राधिकरणमा समेत परेको छ । यो वर्ष अनुमान गरिएको भन्दा साढे ४ अर्ब रुपैयाँको नोक्सानी भइसकेको छ । नियमित आम्दानीतर्फ प्राधिकरणले यस आवमा ८ अर्ब ३३ करोड आम्दानीको प्रक्षेपण गरेको थियो । तर, प्रगति ५५ प्रतिशत हुँदा ४ अर्ब ६१ करोड रुपैयाँमात्र आय भएको छ । मूख्य पर्यटकीय सिजनमै उडान अवतरण बन्द भएपछि विमानस्थल शूल्कमार्फत १ अर्ब ३४ करोड मात्र आम्दानी भएको छ । समग्रमा प्राधिकरणको आम्दानी ४३ प्रतिशतले कम भएको पाइएको छ ।

प्राधिकरणको आम्दानी घट्दा नेपाल सरकारको स्रोतबाट सञ्चालनमा रहेका ठूला आयोजना प्रभावित नभएपनि आन्तरिकतर्फका विमानस्थलको काम भने प्रभावित हुने भएको छ । यसले विमानस्थलहरुको विकास र स्तरोन्नतिको काम प्रभावित हुने प्राधिकरणले जनाएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले समेत सन् २०२० मा एसिया प्रशान्त क्षेत्रमा ३८-७० प्रतिशतसम्म अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा २८-५० प्रतिशतसम्म हवाई यात्रु घट्ने अनुमान गरेको छ । यो समस्याबाट नेपाल अझ बढी प्रभावित हुनेछ ।

सन् २०२० को पहिलो ६ महिनामा गत वर्षको पहिलो ६ महिनाको तुलनामा अन्तराष्ट्रियतर्फ ६१ प्रतिशतले यात्रु कम भएका छन् भने आन्तरिकमा ५५ प्रतिशतले यात्रु घटेका छन् । यस्तै अवस्था रहेमा सन् २०२० को बाँकी ६ महिना पुरा हुँदा ८० प्रतिशतसम्म हवाई यात्रु घट्ने अनुमान प्राधिकरणले गर्दै आएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, पर्यटन / सम्भावना
ट्याग : #hot, #अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन, #नेपाल नागरिक उड्डयन प्राधिकरण, #वायुसेवा कम्पनीको आम्दानी, #हवाई यात्रु घट्ने

तपाईको कमेन्ट लेख्नुहोस्