Techie IT
Mission Khabar

नियमित उडानको तयारी, ८ देशमाथीको प्रतिवन्ध फुकुवा


काठमाडौं । सरकारले कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानमाथि लगाएको प्रतिवन्ध विभिन्न ८ वटा देशका हकमा फुकुवा गरिएको छ । अब मलेसिया, टर्की, दक्षिण कोरिया, जापान, चीन, हङकङ, यूएई र कतारलाई नियमित उडानले नेपालसँग जोड्नेछन् । सेप्टेबर १ बाट लागु भई एक महिनासम्म कायम रहने यो तालिका आवश्यकता र परिस्थिति अनुसार परिवर्तन हुनसक्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् ।

सरकारले स्वदेशी दुई वायुसेवा कम्पनीलाई कुल २९ वटा उडानको अनुमति दिएको छ । त्यसमध्ये नेपाल एयरलाइन्सको भागमा १७ र हिमालयको भागमा १२ उडान परेको छ । विदेशी वायुसेवा कम्पनीले भने ३१ वटा उडानको अनुमति पाएका छन् । १ सेप्टेबरपछि चार्टर्ड उडानमा भने स्वदेशी वायुसेवा कम्पनीबाटै उडान हुने भएको छ । सम्बन्धित मुलुकले आफै पठाउने उडानको हकमा मात्र विदेशी कम्पनीले अनुमति पाएका छन् । सेप्टेम्बरभर कुल २७ वटा चार्टर्ड उडान हुनेछन् । सरकारले सेप्टेबर महिनाका लागि माल्दिभ्स, साउदी अरब, ओमान, कुवेत र कतारमा चार्टर्ड फ्लाइटका लागि उडान तोकेको हो ।

साउदी अरबको जेद्दा, दमाम र रियाद गरी तीन शहरमा जहाज जानेछन् । अब नियमित उडानबाट चीनका ३ वटा शहर काठमाडौंसँग जोडिने छन् । हिमालय एयरलाइन्सले एक महिनामा चुङछिङमा चार उडानको अनुमति पाएको छ । चाइना साउदर्नले ग्वाङझाउ र एयर चाइनाले छेन्दुलाई काठमाडौंसँग जोड्ने भएका छन् । लामो दूरीका उडानमा दक्षिण कोरियाबाट कोरियन एयरले अनुमति पाएको छ । नेपाल एयरलाइन्सले जापानको नारिताका लागि उडानको अनुमति पाएको हो । टर्कीको इस्तानबुलबाट टर्की एयर आउनेछ ।

यी देशबाट तत्कालै पर्यटक र गैरआवासीय नेपालीले भने नेपाल आउन पाउने छैनन् । नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारी, विकास साझेदारी संघ संस्थाका कर्मचारी तथा प्रतिनिधि सरकारी आमन्त्रणमा आउने व्यक्तिले मात्र नेपाल प्रवेशको अनुमति पाउनेछन् ।


क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना, समाचार
ट्याग : #breaking, #अन्तर्राष्ट्रिय उडान, #उडान अनुमति, #चार्टर्ड उडान, #पर्यटन तथा नागरिक उड्डयनमन्त्री, #संस्कृति

तपाईको कमेन्ट लेख्नुहोस्