Techie IT
Mission Khabar

नेपालीसहित ३३ वटा निकायका कर्मचारी र उनीहरुका परिवारले नेपाल आउन पाउने


काठमाडौं । सरकारले १६ भदौबाट लागू हुने गरी नियमित उडानको तालिका बनाएको छ । नियमित उडानको यो तालिका अनुसार दैनिक ५०० जना नबढ्ने गरी विभिन्न मुलुकबाट नियमित दुई उडान हुनेछन् । यो उडानमा नेपाली नागरिकले तोकिएको प्रक्रिया पूरा गरी नेपाल आउन पाउनेछन भने विदेशी पर्यटकले तत्काल यी उडानबाट नेपाल आउन पाउने छैनन ।

सरकारले कुटनीतिक नियोग, विकास साझेदार कम्पनीका कर्मचारी तथा पदाधिकारीलाई नेपाल आउन छुट दिएको छ । सरकारले कुल ३३ वटा निकाय तथा संस्थाका कर्मचारी, प्रतिनिधि र उनीहरुका परिवारका सदस्यलाई नेपाल आगमनको अनुमति दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघ मातहतका डेड दर्जन निकायका कर्मचारी तथा पदाधिकारी र उनीहरुका परिवारका सदस्य, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), संयुक्त राष्ट्रसंघ शिक्षा, विज्ञान तथा सांस्कृतिक संगठन (युनेस्को), संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (युएनएफपीए) र खाद्य तथा कृषि संगठन (एफएओ)का कर्मचारीले प्रतिनिधिले नेपाल आउन छुट पाउनेछन् ।

अन्तर्राष्ट्रिय श्रम संगठन, संयुक्त राष्ट्रसंघ बाल कोष, संयुक्त राष्ट्रसंघीय सूचना केन्द (युएनआइसी), यूएन वुमन, संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठन, विश्व बैंक मातहतका अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) र पुनर्निर्माण तथा विकासका लागि अन्तराष्ट्रिय बैंक (आईबीआरडी)का कर्मचारी तथा प्रतिनिधिलाई समेत नेपाल आउन पाउने छन् । एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआईडी), अन्तर्राष्ट्रिय कृषि विकास कोष, जर्मनी, जापान, कोरिया, अमेरिका, स्विट्जरल्याण्ड, नेदरल्याण्ड्सको अन्तर्राष्ट्रिय सहायता एजेन्सीका कर्मचारी र उनीहरुका परिवारले नेपाल आउन छुट पाउनेछन् ।

यी निकायका कर्मचारी र प्रतिनिधिलाई सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगले भिसा उपलब्ध गराउने छ । नेपाल आउन सबैको पीसीआर अनिवार्य हुनुपर्नेछ । नेपाल आइसकेपछि पनि विदेशीहरुले ७ दिन होटेल क्वारेन्टिनमा बस्नुपर्नेछ ।

थप तीन देशसँग हवाई सम्झौता हुने
नेपालले थप तीन मुलुकसँग हवाई सम्झौता गर्ने गरी प्रक्रिय अघि बढाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले रसिया, फिनल्याण्ड र इन्डोनेसियासँग हवाई सम्झौता गर्ने प्रक्रियालाई गति दिने निर्णय गरेको हो । यी मुलुकहरु नै नेपालसँग सम्झौताका लागि इच्छुक देखिएका थिए ।


क्याटेगोरी : देश / प्रदेश, पर्यटन / सम्भावना
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्