Techie IT
Mission Khabar

साँढे पाँच महिनापछि खुलेका सौराहाका होटल रेस्टुरेन्टमा पर्यटकको पर्खाइ


काठमाडौं, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल सञ्चालनमा आउन थालेका छन् । यसअघि साउन १५ मा खुलेपनि दुई सातामै सरकारले होटल रेस्टुरेन्ट बन्द गर्ने निर्णयगरेसँगै बन्द गरिएका होटलहरु पुन : सञ्चालनमा आएका हुन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले चैत ११ गतेदेखि बन्द भएका होटल साँढे ५ महिना पछि सञ्चालनमा ल्याइएको र अब बन्द गर्ने मनस्थितिमा व्यवसायीहरु नरहेको जानकारी दिए । सौराहका होटल रेस्टुरेन्ट सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाएर पर्यटकलाई सेवा दिन तयारी अवस्थामा रहेको अध्यक्ष भट्टराईले बताए । कर्मचारी बोलाएर सरसफाई, मर्मतसम्भार, रङरोगन, इन्टरनेट जडानलगायत काम सकिन नपाउँदै बन्द गर्नुपरेका होटल व्यवस्यीहरु अहिले पुनः सरसफाई गर्दै ग्राहक कुरेर बसिरहेको छन् । सङ्घले यसअघि नै दसैँअघिदेखी होटल खोल्नुको बिकल्प नरहेको बताउँदै आएको थियो । सङ्क्रमण बढ्दै गएकाले जिल्ला लकडाउनसँगै लामो दूरीका सवारीसाधन बन्द हुँदा दुई साता होटल खोलेका व्यवसायीले समेत खासै आम्दानी गर्न सकेका थिएनन । अहिले होटल खुले पनि उनीहरु पर्यटक कति आउँछन् भन्ने पर्ख र हेरको अवस्थामै छन् ।

होटलका सबैजसो कर्मचारी विदामा रहेकाले जति पर्यटक आउँछन् त्यतिलाई सेवा दिन सक्ने जनशक्ति मात्र राख्ने व्यवसायीको योजना छ । सौराहाका व्यवसायीहरुले लामो समय होटल बन्द हुँदा पुनः पहिलाकै अवस्थामा सञ्चालनमा ल्याउन थप लगानीको आवश्यकता रहेको बताउँदै आएका छन् । व्यवसायीहरु दशैं र दशैंपछि हुने पर्यटकीय गतिविधिलाई लक्षित गरेर अहिलेदेखिनै तयारीमा जुटेपनि हवाई र सडक यातायातमा लागेको प्रतिबन्ध र एक जिल्लाबाट अर्को जिल्ला केही सहज हुँदा पर्यटकीय गतिविधि विस्तारै बढ्ने आशामा छन् । तत्कालै विदेशी पर्यटक नआउने भएकाले पर्यटन मन्त्रालयले सातामा दुई दिन बिदा दिने प्रस्तावसहित आन्तरिक पर्यटन प्रवद्र्धनको योजना अघि सारेकाले पनि व्यवसायी केही आशावादी देखिएका छन् । दशैंको मुखमा होटल खुल्ने तर ग्राहक आएनन् भने थप व्ययभार थपिन सक्ने प्रति व्यवसायी चिन्तित पनि देखिएका छन् ।

क्षेत्रीय होटल सङ्घका अनुसार सौराहामा ११० होटल र साना ठूला १०० हाराहारी रेष्टुरा छन् । सौराहामा होटलमा प्रत्यक्षरुपमा पाँच हजार ५०० भन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएपनि कोरोना महामारीसँगै व्यवसाय नै बन्द अवस्थामा छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, पर्यटन / सम्भावना, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्