Techie IT
Mission Khabar

बहराइनका राजकुमार सहितको टोली मनास्लु हिमाल आरोहणमा


काठमाडौं । बहराइनका राजकुमार शेख नसिर बिन हमाद अल खालिफाको टोली मंगलबार मनास्लु हिमाल आरोहणमा निस्किएको छ । पर्यटन विभागले कोरोना भारइस (कोभिड(१९) संकटकै बीच नेपाल भ्रमणमा रहेका राजकुमार नासिरको टोलीले गोरखाको मनास्लु हिमाल आरोहणमा गएको जानकारी दिएको हो ।

गत शनिबार मात्रै राजकुमार नासिरसहितको टोलीले छ हजार एक सय १९ मिटर अग्लो लुबुचे हिमाल आरोहण गरेको थियो । राजकुमार नासिर टोली आरोहणको सम्पूर्ण संयोजन सेभेन समिट ट्रेक प्रालिले गरिरहेको छ । आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि त्यहाँ बाटो बनाउने काम भइरहेको प्रालिले जनाएको छ । बाटो बनाउने कामसँगै राजकुमार नासिरको आरोहण यात्रा मंगलबारबाटै सुरु भएको छ । कोरोना महामारीका कारण विगत ६ महिनादेखि ठप्प भएको पर्यटन क्षेत्रमा राजकुमार नासिरको भ्रमणले विशेष महत्व राख्ने पर्यटन व्यवसायीले आशा गरेका छन् । राजकुमार नासिरको आरोहण टोलीमा बहराइनका शाही परिवार, सुरक्षा टोली, नेपाली तथा विदेशी गाइडसहित २५ जना रहेका छन् । मनास्लु आरोहणको तयारीका लागि ७५ जनाको टोली एक साताअघि नै मनास्लु आधार शिविर पुगेको थियो । उक्त टोलीले पहिलो आधार शिविर र दोस्रो आधार शिविरसँगै क्याम्प बनाउने काम सकेपछि राजकुमार नासिरको टोलीले आरोहण सुरुवात गरेको हो ।

नासिरको आरोहण टिमको नेतृत्व २४ पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गरेका कामीरिता शेर्पाले गरेका छन् । कामीरितासँगै यो आरोहण टोलीमा विश्वका १४ वटा अग्ला हिमाल आरोहण गरेका छाङदावा शेर्पा, कान्छा सगरमाथा आरोही टासी लाक्पा शेर्पासमेत रहेको सभेन समिट प्रालिले जानकारी दिएको छ । भदौ १५ गते कोरोना संकटकै बीच सरकारले बहराइनका राजकुमारलाई नेपाल आउनका लागि चार्टर्ड फ्लाइटको अनुमति दिएको थियो ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश, पर्यटन / सम्भावना
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्