Techie IT
Mission Khabar

चीनद्धारा अमेरिकी केही नागरिक र संस्थामाथि प्रतिबन्ध लगाउने निर्णय


काठमाडौं । चीनले अमेरिकी केही नागरिक र संस्थामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमन चीनको भ्रमणमा निस्कनु केही दिनअघि बेइजिङले अमेरिकी नागरिक र संस्थामाथि प्रतिबन्धको निर्णय सार्वजनिक गरेको हो ।

प्रतिबन्धको सूचीमा पूर्व अमेरिकी वाणिज्यमन्त्री विल्बर रस सहित अमेरिकाका सात नागरिक र केही निकायहरु रहेको बताइएको छ । चीनको प्रतिबन्धमा पर्नेमा ह्युमन राइट्स वाचकी चीन निर्देशक सोफी रबिन्सन, यूएस–चाइना इकोनोमिक एण्ड सेक्युरिटी रिभ्यू कमिसनका अध्यक्ष क्यारोलिन बार्थलमीउ र इन्टरन्याश्नल रिपब्लिकन इन्स्टिच्युटका एडम किङ पनि रहेका छन् । हङकङमा गरिएको सुरक्षा दमनमा भूमिका खेलेको भन्दै अमेरिकाले यसअघि हङकङमा रहेको चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाइएको थियो । जवाफमा चीनले पनि प्रतिबन्धको निर्णय गरेको आँकलन गरिएको छ ।

ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले चीनले बदलामा चालेको कदमले अमेरिका विचलित नहुने टिप्पणी गर्नुभएको छ । बिग्रदो सम्बन्धलाई सम्बोधन गर्ने उपायबारे छलफल गर्न उपविदेश मन्त्री सेरमन चीन जान लागेकै समयमा भएको प्रतिबन्धलाई अर्थपूर्णरुपमा हेरिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, विश्व / विविध

तपाईको कमेन्ट लेख्नुहोस्