Techie IT
Mission Khabar

अफगानिस्तानमा तालिबानले पकड बढाउँदै, अन्तर्राष्ट्रिय जगतमै ठूलो हलचल


काठमाडौं, एजेन्सी । तालिबान लडाकूहरूले उत्तरी अफगानिस्तानको अन्तिम प्रमुख शहर मजार–ए–शरीफ कब्जा गरेका छन् । केही घण्टा अघिसम्म सरकारी नियन्त्रणमा रहेको सो शहर अहिले बिद्रोहीले कब्जा गरेका हुन् ।

परम्परागत तालिबान विरोधी गढको पतनले उग्रवादीहरुका लागि ठूलो फाइदा पुगेको आँकलन भैरहँदा अफगानिस्तानका ३४ प्रान्तमध्ये आधाभन्दा बढीमा तालिबानले आफ्नो पकडविस्तार गर्दै कब्जा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी नेतृत्वको सेना फिर्ता भएसंगै अफगानिस्तानको सबै क्षेत्रमा तालिवानले लगभग नियन्त्रण जमाएको छ । राष्ट्रपति अशरफ घनी केहीदिन अघि मात्रै मजार ए शरिफमा सेनाको र्यालीसंगै सहभागी भएका थिए ।

अमेरिकी गुप्तचरको अनुमान जस्तै तालिवानीको आक्रामक उपस्थिति
तालिवान लडाकुहरुले केही घण्टामा राजधानी काबुल पनि कब्जा गर्ने दावी गरेका छन् । शनिबार नै आउँदो ७२ घण्टाभित्रै अफगानिस्तानको राजधानी काबुललाई नियन्त्रणमा लिन सक्ने अनुमान अमेरिकी गुप्तचर निकायले गरेको थियो । तालिबान लडाकु राजधानी प्रवेश गर्ने अन्तिम तयारीमा रहेको बेला अमेरिका र बेलायतले सेना पठाएर अफगानिस्तानबाट आफ्ना कुटनीतिक कर्मचारी तथा रोकिएका आफ्ना नागरिक लैजान थालेका छन् । अमेरिकाले आफ्ना दुतावासका सामाग्रीहरु तालिबानको हातमा पुगेमा प्रोपागान्डाको रुपमा प्रयोग गर्न सक्ने जोखिम औल्याउँदै त्यस्ता सामाग्री नष्ट गरेको जनाइएको छ ।

राष्ट्रपति घानीले गरे अन्तर्राष्ट्रिय सहयोगको अपिलसहित पछि नहट्ने संकेत
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले शनिबार देशबासीका नाममा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय सहयोगको लागि अपिल गरेका थिए । देशका ३४ प्रान्तमध्ये १८ प्रान्त तालिबानी लडाकुको कब्जामा पुगिसकेको बेला सम्बोधन गरेका उनले आफू तत्काल राजीनामा नदिने समेत जानकारी गराए । अफगानिस्तान ठूलो संकटमा गुज्रिएको भन्दै घानीले पछिल्लो परिस्थितिबारे आफूले विश्व नेताहरुसँग छलफल गरिरहेको र तालिवानलाई नियन्त्रणमा लिनसक्ने भन्दै नागरिकलाई आस्वस्त पारेका थिए ।

राजधानी कावुल नजिकै रहेका र पहिला तालिवानको कम उपस्थिति रहेका प्रान्तहरु समेत अहिले तालिवानले कब्जामा लिएको छ । सरकारी सुरक्षा फौज र तालिवानबीचको भिडन्तमा सयौं घाइते भएका छन् भने हजारौं विस्थापित भएका छन् । हजारौं व्यक्तिहरु सुरक्षा खोज्दै राजधानी कावुलतर्फ हिँडेका छन् । अबको केही दिनमै तालिवानले राजधानी कावुलसमेत कब्जामा लिने खतरा बढेसँगै नागरिकहरु त्रसिद भएका छन् ।

राष्ट्रसंघको चिन्ता
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनो गुटेरसले अफगानिस्तानको अवस्था नियन्त्रण बाहिर जान लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले दुवै पक्षलाई नागरिकको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन् । उनले नागरिकमाथिको आक्रमण मानवीय र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको समेत उल्लेख गरेका छन् ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, विश्व / विविध


तपाईको कमेन्ट लेख्नुहोस्