Techie IT
Mission Khabar

काबुल विमानस्थलमा सुरक्षा जोखिम बढेको भन्दै सुरक्षित रहन अमेरिका र बेलायतको आग्रह


एजेन्सी । अमेरिका र बेलायतले सुरक्षा जोखिम बढेको भन्दै आफ्ना नागरिकलाई काबुल विमानस्थलबाट टाढै रहन आग्रह गरेका छन् । सुरक्षा जोखिमको आँकलनसहित यी दुई राष्ट्रले काबुल विमानस्थल तर्फको यात्रा सकेसम्म नगर्न आफ्ना नागरिकलाई सचेत गराएका हुन ।

हजारौँ मानिसहरु अझै पनि विमानस्थलको बाहिर र भित्र अफगानिस्तान छोड्न प्रतिक्षारत छन् । उनीहरु विमान पर्खिएर बसिरहेका बेला सुरक्षा चुनौति सम्बन्धी सूचना जारी भएसँगै थप अन्यौल र त्रासदी बढेको छ । अगस्ट १५ मा अफगानिस्तान तालिबानको कब्जामा गए यता काबुलबाट ८२ हजार भन्दा बढी मानिसको उद्धार भएको छ । अमेरिकासहितका पश्चिमा देशहरुले आफ्ना नागरिकलाई अगस्ट ३१ को समय सीमा भित्र उद्धार गर्न वा फिर्ता लैजान हतारो गरिरहेका छन् । पछिल्लो २४ घण्टामा अमेरिकाले व्यवस्थापन गरेका विमान मार्फत १९ हजार मानिसको उद्धार भएको जनाइएको छ ।

तालिबानले सैन्य अभियान वा विदेशी सेना फिर्ताको समय सीमा अगस्ट ३१ भन्दा पछि धकेल्ने योजनाको विरोध गरिरहेको छ । तर त्यसपछि पनि विदेशी तथा देश छोड्न चाहने अफगानीहरुलाई जान दिने बताएको अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिंकेनले बताए अमेरिकाको विदेश मन्त्रालयले बुधबार जारी गरेको सूचनामा काबुल विमानस्थलको एबी गेट, इस्ट गेट र नर्थ गेटमा पर्खिरहेकाहरुलाई तत्काल त्यहाँबाट अन्यत्र जान भनिएको छ । यसअघि नै बेलायतले सोही प्रकृतिको सूचना जारी गरेको थियो । बेलायतले सुरक्षित स्थानमा गएर उद्धारको अर्को सूचना पर्खिन भनेको छ । यद्यपी अमेरिका र बेलायतले सुरक्षा चुनौतिबारे थप तथ्य भने खुलाएका छैनन ।

मंगलबार अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो सम्बोधनको क्रममा अफगानिस्तानमा रहेको इस्लामिक स्टेट (आइएस) का कारण बढ्दै गएको जोखिमका कारण अमेरिकाको नियन्त्रणमा रहेको हवाई उद्धार अभियान जति सक्दो चाँडो सम्पन्न गर्नुपर्ने धारणा सार्वजनिक गरेका थिए ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, विश्व / विविध

तपाईको कमेन्ट लेख्नुहोस्