Techie IT
Mission Khabar

अफगानिस्तानमा चरम खाद्य सङ्कट आउने यूएनको चेतावनी, चीनद्वारा सहयोग घोषणा


एजेन्सी । चीनले अफगानिस्तानलाई सहयोगको घोषणा गरेको छ । तालिबानले युद्धमार्फत सत्ता नियन्त्रणमा लिएर सरकार घोषणा गरेसँगै मानवीय सहायता र कोरोना भाइरसविरुद्धको सहयोग घोषणा गरेको हो । पाकिस्तानले आयोजना गरेको अफगानिस्तानका छिमेकी देशका विदेश मन्त्रीहरूबीचको भर्चुअल छलफलमा चिनियाँ विदेश मन्त्री वाङ यीले अफगानिस्तानलाई तीन करोड १० लाख अमेरिकी डलर बराबरको खाद्यान्नलगायतको सहयोग घोषणा गरेका हुन ।

यस्तै चीनले अफगानिस्तानलाई कोरोना भाइरसविरुद्धको खोप १० लाख मात्रासहित अरू स्वास्थ्य सामग्री पनि सहयोग गर्ने बताएको छ । गएको अगस्ट ३१ मा अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तानमा अन्तर्राष्ट्रिय सहायता के हुने हो भन्ने अन्योल छ । अमेरिकालगायत पश्चिमा देशहरूले तालिबान सरकारलाई सहायता गर्न उसले महिला अधिकार र प्रजातान्त्रिक मूल्य, मान्यतालाई पछ्याउनुपर्ने र अफगान भूमिलाई आतङ्कवादी समूहको आश्रयस्थल बनाउन नहुने सर्त राख्दै आएका छन् ।

अफगानिस्तानमा छिट्टै खाद्यान्न सङ्कट हुने यूएनको चेतावनी
संयुक्त राष्ट्र सङ्घ (यूएनं) ले अफगानिस्तानमा छिट्टै खाद्यान्न सङ्कट हुने चेतावनी दिएको छ । अहिले पनि अफगानिस्तानका आधाभन्दा धेरै बालबालिका छाक टार्नकै लागि सङ्घर्ष गरिरहेको पाइएको राष्ट्र सङ्घले जानकारी दिएको छ । तालिबानले सत्ता नियन्त्रणमा लिएपछि अफगानिस्तानमा खाद्यवस्तुको मूल्य ५० प्रतिशतभन्दा धेरैले बढेको समाचार विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।


क्याटेगोरी : विश्व / विविध

तपाईको कमेन्ट लेख्नुहोस्